

१९ मंसिर २०८२, शुक्रबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलन्यास गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका ११ स्थित चारकुने क्षेत्रमा उक्त भवन शिलन्यास गर्नुभएको हो । उक्त शिलन्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले मानवसेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा समुदायिक सहभागिता र सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले मानव सेवास्थल निर्माणले सामाजिक सदभाव र एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
“वीरेन्द्रनगर चक्रपथ निर्माणको काम प्रक्रियामा रहेको छ र थप कार्यका लाग मैले नियमित पहल गरिरहेको छु,” उहाँले भन्नुभयो, “आश्रमको भवन निर्माण कार्य गुणस्तरीय र निश्चित समयमै सम्पन्न गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दछु । भवन निर्माणका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न प्रतिवद्ध छु ।”
सामाजिक विकास मन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोल अनुरुप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताउनुभयो । सरकारी घोषणालाई कार्यान्वयन गर्न सबैको उत्तिकै भूमिका रहेको भन्दै उहाँले मानवता प्रवद्र्धन र सेवाका निम्ति प्रदेश सरकारले भवन निर्माण जस्ता पूर्वाधार संरचनाका कार्यलाई पनि प्राथमिकतामा राखेको जनाउनुभयो ।
मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा.नवराज केसीले भवन निर्माणको लागि महायज्ञमार्फत दान संकलन गरिएको जनाउँदै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो । आश्रमको भवन निर्माण कार्य निर्धारिता मितिमै सम्पन्न गर्न सरोकारवालाहरुलाई उहाँले सहयोग गर्न अपिल गर्नुभयो ।
भवन निर्माणस्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई आग्रह गर्दै उहाँले ज्येष्ठ नागरिकहरुका लागि सामुदायिक भावनासहितको मनोरन्जनात्मकस्थलका रुपमा विकास गर्न सकिने सम्भावना रहेको संयोजक डा.केसीको भनाई थियो । उक्त कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रदेश सरकारको सहयोगले सहयोगापेक्ष सडक मानव र मानवता प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
प्रदेश सरकारबाट निर्माण हुने प्रदेश उक्त भवनको लागत अनुमान रु.दुई करोड ५० लाख रहेको छ । जस अन्तरगत चालु आर्थिक वर्ष २०८२÷०८३ मा कर्णाली प्रदेश सरकारबाट रु.एक करोड ५० लाख बजेट विनियोजन गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।








