OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ११, २०८२
२४८ पटक

१० साउन २०८२, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक दर्शन आवश्यक भएको बताउनुभएको छ ।

आज सुर्खेत वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपालका प्रतिनिधिमण्डलसँग भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले युवाहरु विभिन्न खालको दुर्व्यसनी फस्दा शान्त र समृद्ध समाज निर्माणमा चुनौति बढ्दै गएको बताउनुभयो । उहाँले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, लागूपदार्थको दुरुपयोग जस्ता समस्याको समाधानका लागि आध्यात्मिक मूल्य र अभ्यासलाई जीवनशैलीमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “आजका युवाहरु आधुनिक प्रविधि त छिटो जानिरहेका छन् तर मानसिक रुपमा खोक्रो बन्ने समस्या पनि त्यत्तिकै बढ्दै गएको छ । वर्तमान पुस्ता विशेषगरी युवा वर्गलाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शनको आवश्यक छ ।” मोबाइल, सामाजिक सञ्जाल र नशालु पदार्थको लतले उनीहरुलाई भौतिक उन्नतिमा मात्रै केन्द्रित गर्दा त्यसले दीर्घकालीन रुपमा समाज र राष्ट्रलाई नै असर पार्दै गएको उहाँको भनाई थियो ।

ब्रह्माकुमारी संस्था जस्ता आध्यात्मिक केन्द्रहरूले शुद्ध विचार, सकारात्मक सोच, आत्म–अनुशासन र नैतिक जीवनशैलीको अभ्यास गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने भूमिका खेलिरहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशका विद्यालय, युवा क्लब, पुनस्र्थापना केन्द्र तथा सरकारी कर्मचारीहरुलाई लक्षित गर्दै राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री कँडेलको सुझाव थियो ।

भौतिक विकाससँगै मानसिक र आध्यात्मिक शुद्धताले मात्र समृद्ध समाज निर्माण सम्भव हुने उहाँले जिकिर गर्नुभयो । राज्यले आध्यात्मिक केन्द्र र सकारात्मक सोचको प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

प्रतिकृया दिनुहोस्