

२५ असार २०८२, बुधबार
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरमा आजबाट ट्राफिक लाईट जडान गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले आज ट्राफिक लाईट जडान कार्यको उद्घाटन गर्दै सञ्चालनका लागि जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरेको छ । उक्त उद्घाटन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई व्यवस्थित र सुरक्षित सहर बनाउन ट्राफिक लाईट जडान गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बढ्दो सहरीकरणसँगै सवारी साधन दिनहुँ बढिरहेको छन् । यसले सुरक्षा चुनौति, शान्त एवं सुन्दर सहर निर्माणमा चुनौति थपिएको छ । तथापि व्यवस्थित सहर बनाउन नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेटमै सडक सुरक्षालाई प्राथमिकता राखेका छौं । वीरेन्द्रनगरका विभिन्न स्थानमा करिब तीन सय सिसि टिभी जडान गरिनेछ ।”
उहाँका अनुसार वीरेन्द्रनगरको मंगलगढी, एरिचोक र दैलेख रोडमा पनि निकट भविश्यमै टाफिक ल्याइट व्यवस्था गरिनेछ । फुटपाथ व्यवस्थापनको काम पनि भईरहेको छ । सवारी साधनको गति, पैदल यात्रुहरुको आवातजावतलाई पनि सहज गरी मुख्य सडकलाई व्यस्थित गर्नेछ ।
नगरप्रमुख ढकालले वीरेन्द्रनगर चोकमा जडान गरिएको ट्राफिक लाईट सिस्टमको उद्घाटन गरेसँगै सञ्चालनको जिम्मा सम्बन्धी कागजात आजै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले नगरपालिका र ट्राफिक प्रहरी कार्यालयको आपसी समन्वय सहकार्यबाट वीरेन्द्रनगरलाई सुरक्षित, सुन्दर र व्यवस्थित बनाउने जनाउनुभयो ।