
१२ जेठ २०८२, सोमबार
कर्णाली प्रदेशबाट लुम्बिनी र सुदूरपश्चिम दुई प्रदेशसहित तराईसँग जोड्ने छोटो सडकमार्ग मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक क्षेत्रका रुख कटानको प्रक्रिया अगाडि बढेको छ ।
करिब रु.१३ करोड लागतमा विसं.२०७७, असार १६ गते रानीघाट–तेलपानी सडक स्तरोन्नति गर्न पूर्वाधार विकास निर्देशनालय सुर्खेत र थोदुङ–जागृति जेभीबीच ठेक्का सम्झौता भएको थियो । विसं.२०८२ माघ २२ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने भनिए उक्त सडक निर्माण अवधि सम्पन्न हुनै लाग्दा समेत भौतिक प्रगति दश प्रतिशत मात्र भएको जनाइएको छ । निर्देशनालयका अनुसार अब पनि उक्त जेभीले सोही बजेटमा निर्माण कार्य अगाडि बढाउनेछ ।
ठेक्का सम्झौता भई निर्माणको काम अगाडि बढेको छ वर्षपछि उक्त सडक अन्तरगत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने रुख कटान प्रक्रिया अघि बढेको हो । रुख कटानका साथै जग्गा भोगाधिकारको कानुनी प्रक्रिया पूरा नगर्दा निर्माण कार्य अलपत्र परेको थियो । अन्ततः सडक किनारामा पर्ने रुख कटानको प्रक्रिया अघि बढेमा अब उक्त निर्माण आयोजनाले पूर्णता पाउने अपेक्षा गरिएको छ ।
निकुञ्जले सडकको पहिलो खण्डमा पर्ने बराहताल गाउँपालिका १ को श्रीचौरदेखि तेलपानीसम्म पर्ने रुखको लगत संकलन प्रतिवेदन पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा पेश गरेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने चार हजार एक सय रुख कटान गर्नुपर्ने रायसहितको प्रतिवेदन निर्देशनालयमा पेश गरेको हो ।
मध्यवर्ती क्षेत्रमा पर्ने सडक किनाराका रुख कटानको कार्य अगाडि नबढ्दा लामो समयदेखि निर्माणको काम रोकिँदै आएको थियो । रुख कटनाका लागि प्रतिवेदनमा आवश्यक प्रक्रिया पूरा गरी संघीय वन तथा वातावरण मन्त्रालयमा पेश गरिने पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निर्देशक सूर्यबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि रुख कटानको प्रक्रिया सुरु हुनेछ । “निर्देशक शाहीले भन्नुभयो, सडकका क्षेत्राधिकार भित्रका चार हजार चार सय ८४ रुखको प्रतिवेदन फाइल वन विभागमा पठाइसकेका छौ । सामुदायिक र राष्ट्रिय वन क्षेत्रका तीन सय ८४ र मध्यवर्ती क्षेत्रका चार हजार एक सय रुख काट्ने तयारी भइरहेको छ ।”
रुख कटानमा अन्य अल्झन नआए अबको एक वर्षभित्र आयोजनाले पूर्णता पाउने निर्देशक शाहीले बताउनुभयो । उहाँका अनुसार भुरीगाउँबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको दूरी ५१ किलोमिटर छ । यो सडकको स्तरोन्नति र विस्तार भएको खण्डमा भुरीगाउँबाट वीरेन्द्रनगर एक घण्टाभित्रै पुग्न सकिन्छ ।
तत्कालीन जिल्ला पञ्चायतले विसं.२०२५ सालमा हुलाकी सडकका रुपमा खोलेको ट्रयाकले ठाकुरबाबा नगरपालिका २ बर्दिया भुरीगाउँको अम्रेनीदेखि कर्णाली प्रदेशको बराहताल गाउँपालिकाको तेलपानी हुँदै वीरेन्द्रनगरलाई छुन्छ । सुर्खेत–भुरीगाउँ जोड्ने यो सडक पूर्णरुपले निर्माण हुनसके कर्णाली सहजै लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग जोडिने र बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ ।