

१२ माघ २०८१, शनिबार
कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले युवाहरुका लागि कर्णाली अवसरको भूमि भएको बताउनुभएको छ ।
परिवर्तनका लागि युवा संस्थाद्वारा कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा शुक्रबारदेखि आयोजित ‘कर्णाली युवा महोत्सव’को आज समापन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले कर्णाली विविध क्षेत्रको खजना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली आफैमा धनी र प्रचुर संभावना भएको प्रदेश हो । यहाँ उत्पादितले वस्तुले विश्व चिनाउने क्षमता राख्दछ ।”
कर्णालीमा आयोजित युवा महोत्सवले मुलुकमै बसेर गर्न सकिने तमाम् संभावनाका क्षेत्रहरु छन् भन्ने आशा र उत्प्रेरणा जगाउन सघाउने बताउनुभयो । प्रदेश प्रमुख जोशीले भन्नुभयो, “युवा देश निर्माणको खम्बा हो । राष्ट्रको मेरुदण्ड र भविश्य दुवै हो ।” पछिल्लो समयमा बढ्दै गएको युवा पलायन रोक्न र उनीहरुको रोजगारीको प्रबन्ध गर्न तर्फ राज्यले विशेष जोड दिनुपर्ने उहाँको भनाई थियो ।
उक्त महोत्सवमा बरिष्ठ पत्रकार दिलभूषण पाठक दुई दशक अगाडि कालापहाडबाट आफ्ने जिन्दगी धान्ने कर्णालीमा अहिले महिलाहरु उद्यमी बनेर जागीर दिने बन्न सक्ने परिवर्तनले कर्णाली कमजोर नरहेको बताउनुभयो । उमेर र अंकले युवा नहुने भन्दै उहाँले सोच र योजनाले युवाको पहिचान दिने जनाउनुभयो ।
पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठले कर्णाली पर्यटनका हिसाबले निकै महत्वपूर्ण भूमि भएको बताउँदै पर्यटन उद्योगमा सरकार तथा नीजि क्षेत्रले प्राथमिकता दिन सकेमा युवा रोजगारी बढ्ने बताउनुभयो । यद्यपि यसमा युवाहरुले नवीनतम सोचलाई उत्पादनतर्फ जोडेर मुलुकको अर्थतन्त्र वृद्धि गर्नमा सघाउने उहाँको भनाई थियो ।