OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १०, २०८१
१३० पटक

१० मंसिर २०८१, सोमबार

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले उद्यमीहरुका लागि कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभएको छ ।

दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित मूल समारोहमा बोल्दै मन्त्री अधिकारीले यहाँको उत्पादनमा वृद्धि र रोजागरी सिर्जना गर्न लगानीको खाँचो रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि अब बैंक तथा वित्तिय संस्थाहरुलाई बोलाएर छलफल चलाउँछु । भएका कानूनी जटिलतालाई हटाएर एकीकृत कानून निर्माण गर्छौ ।”

उद्योगीहरुको श्रम र सिर्जनामा सघाउने तथा श्रम संस्कृतिको विकासमा युवा जनशक्ति प्रेरित हुने गरी सरकारले साथ दिने उहाँको भनाई थियो । लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष उदिराम डाँगीले कर्णालीमा लगानी, पूर्वाधार र प्रविधिको अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युतको पावरले काम नगर्दा लघु तथा साना घरेलु उद्योगहरु सञ्चालनमा समस्या छ । यसलाई समाधान गर्न सरकारको बैलेमा ध्यान जाओस् ।”

लघु औद्योगिक ग्राममा २४ उद्योगबाट एक सय चार जनाले प्रत्यक्ष रोजगारी पाएको र अहिले पनि दुई सय जनाको खाँचो रहेको उहाँको भनाई थियो । अध्यक्ष डाँगीका अनुसार सर्टिफिकेट भएका मान्छेसँग सीप नभएको तर सर्टिफिकेट नभएका मान्छेहरुको सीप उपयोग गर्ने वातवारण नभएकोले कर्णालीको उत्पादनमा वृद्धि ल्याउन उद्यमीमैत्री लगानीमा ध्यान दिनुपर्दछ ।

उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड भएको बताउनुभयो । कर्णाली लघु तथा घरेलु उद्योगको ठूलो संभावना क्षेत्र भएको बताउँदै उहाँले उद्यमशीलताबाट मात्र श्रम, रोजगारी र उत्पादन बढ्ने जनाउनुभयो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदम लामिछानेले कर्णालीका विभिन्न प्रकृतिका ४१ हजार उद्योग भएको जनाउदै उद्यमशील संस्कृति आजको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । उक्त कार्यक्रममा उद्योग क्षेत्रबाट कर्णालीको उद्यमशील संस्कृति र राष्ट्रको समृद्धिमा योगदान पुर्याउने उद्यमीहरु पवित्राकुमारी शाही, लक्ष्मी कार्की, मोहनप्रसाद जैसी र हेमन्तकुमार दर्लामीलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्