OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २४, २०८१
५८ पटक

२३ असार २०८१, आईतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खोजमूलक समाचारले सरकारलाई काम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज सुर्खेतको समन्वयमा सञ्चालित दुई दिने ‘संसदीय रिपोर्टिङ्सम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण’को समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले सदन, सरकार र समाजमा भएका बेथिति, अनियमितता र गलत कार्यको खोज गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारले सत्यतथ्य नबुझी लेखेको समाचारले परिस्थिति अर्कै ठाउँमा पुग्छ । यसमा निस्वार्थ, निष्पक्षरुपले भरपुर क्षमता प्रयोग गरी खोजी समाचार लेख्नुहोस् । तपाईहरुको सानो समाचारले पनि महत्वपूर्ण अर्थ राख्दछ । संसदीय मामिला सम्बन्धीको रिपोर्टिङ प्रशिक्षणले लेखन कलामा परिस्कृत रुप आउनुको साथै पत्रकारको सीप र क्षमता अभिवृद्धिमा सहयोग पुग्नेछ । यसबाट उत्कृष्ट कर्णाली एवं समुन्नत समाज निर्माणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेको छु ।”

भोलि खाता बन्द हुँदै गर्दा आज कार्यक्रम गर्ने परम्परागत संस्कारको अन्त्य गर्ने बताउँदै मुख्यमन्त्री कँडेलले आगामी आव.मा बजेट तथा कार्यक्रमको उद्देश्य पुरा हुने थिति बसाल्ने जिकिर गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रविलाल शर्माले ‘संसदीय रिपोर्टिङ्सम्बन्धीको प्रशिक्षणले प्रदेशसभाको कामकारवाही, सदस्यहरुको भूमिकालाई नागरिक तहसम्म पुर्याउन सहयोग पुग्ने बताउनुभयो ।

‘पत्रकारको कलम, नागरिकका लागि मलम’ बनोस् भन्नै सचिव शर्माले भन्नुभयो, “उन्नत लोकतन्त्र, सभ्य एवं समृद्ध समाजका लागि वस्तुनिष्ठ पत्रकारिता आवश्यकता हो भने पत्रकारिता संवेदनशील क्षेत्र हो । कानूनी प्रबन्धहरुदेखि हरेक कुरामा पत्रकार संवेदनशील हुनुपर्दछ । यसका लागि अध्ययन आवश्यक छ ।”

प्रदेशसभा सञ्चालन नियमावली, कार्यविधि र ऐनका विषयमा सहि तरिकाले समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै सचिव शर्माले नागरिकका आवाज सरकारसँग र सरकारका गतिविधि नागरिकसम्म पुर्याउन पत्रकारको अहम् भूमिका रहेको जनाउनुभयो । उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक सूर्यमणि गौतमले व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकाको प्रकृति, स्वरुप र क्षेत्राधिकार, सभामुख तथा मुख्यमन्त्रीको चयन, प्रदेशसभा सञ्चालनका विधि, विधेयकको उत्पतिदेखि ऐन, बन्ने प्रक्रियाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै, प्रशिक्षक रामकृष्ण भण्डारीले संसदीय पत्रकारितको ईतिहास र विकासक्रम एवं संसदीय रिपोर्टिङका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभयो । प्रशिक्षक विनु सुवेदीले संसद सञ्चालन विधि, प्रक्रिया र अभ्यास तथा जनप्रतिधिहरुको दायित्व र प्रदेशसभा सचिवालयका कानून उपसचिव अर्जुन भुसालले प्रदेश तहको कानून निर्माणको प्रक्रिया, प्रत्यायोजित अधिकार, विधेयकको प्रकार, संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसमन्वय) ऐन, २०७७ र विधेयक तर्जुमका लागि १३बुँदे अवधारणापत्रका बारेमा पत्रकारहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्