१९ असार २०८१, बुधबार
कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा आज उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न भएको छ ।
राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानद्वारा संयुक्त आयोजित सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गर्नुभयो । उक्त सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली समस्याको पर्याय नभई सम्भावनाको क्षेत्र भएको जनाउनुभयो ।
उहाँले भन्नुभयो, “कर्णाली खाली कागज हो, जे लेख्न चाह्यो त्यही लेख्न सकिन्छ । यो सबैको आकर्षणको केन्द्र पनि हो । यहाँ भएका संभावनाहरुलाई उपयोग गर्न नसक्दा कमजोर जस्तो देखिएका छौं । अहिलेको यहाँको आन्तरिक आम्दानी पनि रु.६५ करोड मात्र छ ।” यद्यपि राजश्वमा वृद्धि र प्रदेशको आर्थिक समृद्धि ल्याउन यथेष्ट आधारहरु भएको उहाँको भनाई थियो ।
सरकारले लिएको नीति, कार्यक्रम र लक्ष्य पुरा गर्न नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको औंल्याउनुभएका मुख्यमन्त्री कँडेलले सक्कली व्यवसायीहरुलाई मात्र सरकार नजिक पुर्याउन सझुाउनुभयो । उहाँका अनुसार श्रमलाई सम्मान गर्ने संस्कृतिबाट मात्र उद्यमशीलता, रोजगारी हुनुका साथै आत्मनिर्भरता बढ्न जान्छ ।
उद्योग बाणिज्य महासंघ नेपालका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिको निम्ति सबै दलका नेता एक ठाउमा आउनुपर्नेमा जोड दिनुभयो । नेपाल र त्यसमा पनि कर्णालीमा लगानी र अन्वेषण हुन नसकेको बताउँदै उहाँले पछिल्लोमा समयमा रारामा होटेल खोल्नका लागि लगानी गरिएको जनाउनुभयो । पछिल्लो समय विभिन्न क्षेत्रमा रु.४० अर्ब बराबरको लगानीमा काम गरिरहेको उहाँको भनाई थियो ।
श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्द रिजालले कर्णालीको १६ लाख ८८ हजार जनसंख्या मध्ये मात्र छ लाख १८ हजार आर्थिक क्रियाकलापमा जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “३० प्रतिशत महिलाहरु काममा संलग्न छन् । कुल २६ प्रतिशत मात्र रोजगारीमा जोडिएका छन् । १३ हजार चार सय २६ जना वैदेशिक रोजगारमा र त्यसमा अधिकांश जनशक्ति खाडी मुलुकमा गएको देखिन्छ ।”
नविल बैंकका उपप्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञावलीले मुलुक निर्माणका लागि आलोचना नभई एकले अर्कोलाई साथ दिने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उद्यमशील युवा, सिर्जनशील युवा अभियानका संयोजक भूपेन्द्रबहादुर शाहीले युवाहरुमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आर्थिक समृद्धि अहिले राष्ट्रको मूल मुद्दा हो । आर्थिक समृद्धि विना देशको विकास र नागरिकको जीवनस्तरमा आमूल रुपान्तरण सम्भव छैन । देशकै प्रमुख चुनौति बनेको आर्थिक अवस्था र बेरोजगारी समस्या हल गर्नका लागि व्यापक आर्थिक लगानी र उद्यमशीलता प्रवद्र्धन जरुरी छ । पूँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास हाम्रो प्रमुख ध्येय हो ।”
सम्मेलनमा आर्थिक विकास र कर्णालीमा लगानीको संभावना, पर्यटन, उद्यमशीलता र रोजगारी तथा उद्यमशीलता प्रवद्र्धनमा सरोकारवालाहरुको भूमिका विषयक तीनवटा प्यानल सत्र सञ्चालन भएको थियो । उक्त सम्मेलनमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशीलता इकोसिस्टम साझेदार र नीति निर्माताहरु, अर्थ विज्ञ, कर्णाली प्रदेश सचिव आनन्द सारु, बैंक तथा वित्तिय संस्थाका प्रमुख, उद्यमी, विद्यार्थी तथा नागरिक अगुवा एवं पत्रकारलगायत करिब दुई सयको सहभागिता रहेको थियो ।