OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०८१सुर्खेत
१०८ पटक

 २३ जेठ २०८१, बुधबार

कर्णाली प्रदेश सरकारको आगामी आव.२०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको आज बसेको चौथो अधिवेशनको छैटौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख परियारले ‘सुशासन र सामाजिक न्याययुक्त समृद्ध कर्णालीः आर्थिक तथा भौतिक विकाससहितको समाजवादोन्मुख प्रणाली’ भन्ने मूल ध्येयका साथ आर्थिक, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी समृद्ध कर्णालीबासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न कर्णाली प्रदेशको मार्गचित्रको रुपमा नीति तथा कार्यक्रम परिलक्षित रहेको बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले ‘स्वस्थ माटो, स्वस्थ जीवन,’ ‘एक पालिका एक कृषक पाठशाला,’ ‘अर्गानिक कृषिमा वृद्धि, कर्णालीको समृद्धि’ घुम्ती प्राविधिक सहयोग कार्यक्रम ल्याएको छ । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र जलविद्युतका परियोजनालाई प्रदेश सरकारले अगाडि बढाउने नीति लिएको छ । सीप सिकेका युवालाई सामुहिक रुपमा वस्तु विकास गर्न वस्तु विकास प्रशिक्षण केन्द्रको स्थापना गरिएको छ ।

सुशासनयुक्त सहकारी क्षेत्रको विकास गर्न प्रदेश मातहतका सहकारी संस्थाहरुको अनुगमन तथा नियमन कार्यलाई प्रभाकारी बनाउने, कर्णालीलाई मासु तथा दुधमा आत्मनिर्भरतातर्फ लैजाने, भू–उपयोग नीति निर्माण गरी जोखिम संवेदनशील भू–उपयोग गुरुयोजना तयार गर्ने, बेरोजगार जनशक्तिलाई व्यवसाय तथा रोजगारमा आवद्ध गर्न कर्णाली समृद्धि परियोजनामार्फत उद्यमशीलता विकास, रोजगार मेला र सीप विकास कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले लिएको छ ।

‘पर्यटन उद्योग र खानीः समृद्धि संभव छ, कर्णालीमा गरौं लगानी’ भन्ने मूल मान्यताका साथ पर्यटन क्षेत्रको विकास, संभाव्य खानीको उत्खनन्, अन्वेषण, नवपर्वतन र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको स्थापनाका लागि सार्वजनिक र नीजि क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने नीति लिएको छ । प्रकृतिमा आधारित पर्यटन, ग्रामीण पर्यटन र होमस्टे प्रवद्र्धन गर्न नागरिकलाई पर्यटनसम्बन्धी रोजगारी, आतिथ्यता र उद्धारलगायतका कार्यक्रम सञ्चालन र यसको प्रवद्र्धनका लागि पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याउने नीतिमा उल्लेख गरिएको छ ।

संघीय सरकारको सहकार्यमा सुर्खेत विमानस्थलको विस्तार तथा पूर्वाधार विकास, प्रविधिमैत्री सुरक्षा प्रणाली, सुरक्षित कर्णाली प्रदेश अभियान, कर्णालीका समग्र नागरिकहरुको विपद् जोखिम दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिँदै जोखिमयुक्त, संकटग्रस्त, दुर्गम, पिछडिएका क्षेत्र तथा न्यून आय भएका नागरिकका लागि विपद् घर सुरक्षा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘निरोगी कर्णालीमा केन्द्रित स्वास्थ्य प्रणाली’ भन्ने मूल नाराका साथ कर्णालीवासीको स्वास्थ्य सेवाको पहुँचलाई एकीकृत, सरल, सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउँदै प्रदेश अस्पताल सुर्खेतलाई विशिष्किृत प्रेषण तथा शिक्षण अस्पतालका रुपमा विकास गर्ने र कर्णाली स्वस्थ नागरिक विशेष अभियान सञ्चालन गर्ने नीति लिएको छ । त्यस्तै, मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम, एकदिन किताबरहित शुक्रबार जीवनोपयोगी शिक्षा कार्यक्रमलाई परीक्षणका रुपमा सञ्चालन गरिने जनाइएको छ ।

त्यसैगरी, पत्रकार दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने, सूचना र प्रविधिका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि, सञ्चार माध्यमको दर्ता, नियमन, अध्ययन अनुसन्धानको विषयमा कानून निर्माण गर्ने, पत्रकारिता तथा आमसञ्चार छात्रवृति तथा पुरस्कारलगायतका कार्यक्रमलाई निरन्तरता दिने नीति प्रदेश सरकारले ल्याएको छ ।

 

प्रतिकृया दिनुहोस्