३० बैशाख २०८१, सोमबार
समाजमा घटित विभिन्न घटनालाई तथ्याङ्कीय रुपले केलाउँदा कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै भएको पाइएको छ ।
उच्च अदालत सुर्खेतले आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको तथ्याङ्क अनुसार चाल आर्थिक वर्ष २०८०÷८१ मा पुनरावेदन तहमा एक सय ६४ मुद्दा जबरजस्ती करणीमा मात्र दर्ता भएका छन् । त्यस्तै, कर्तव्य ज्यान, सवारी ज्यान र ज्यान मार्ने उद्योगअन्तरगत एक सय १३, लागुऔषध सम्बन्धी ५१, बाल तथा बहुबिबाहका ४७ र सम्बन्ध बिच्छेदका १६ मुद्दा पुनरावेदन तहमा दर्ता भएको उच्च अदालत सुर्खेतका बरिष्ठतम् न्यायधीश कृष्णलाल भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्ष सरी आएका एक सय ६० र नयाँ दर्ता भएका छ सय ८९ गरी कुल मुद्दा संख्या आठ सय ४९ रहेकोमा पाँच सय १८ फछ्र्यौट भएका छन् । तीन सय ३१ मुद्दा फछ्र्यौट गर्न बाँकी छन् । त्यस्तै, कैफियत प्रतिवेदनतर्फ ७६ मुद्दामा ६९ फछ्र्यौट भएको न्यायधीश भट्टराईले बताउनुभयो । रिट निवेदनतर्फ ८५ मुद्दामा ५२ फछ्र्यौट र ३३ बाँकी रहेको उहाँको भनाई थियो । समग्रमा बैशाख ३० गतेसम्म ७९ प्रतिशत मुद्दा फछ्र्यौट भएको जनाइएको छ ।
अदालतको पञ्चवर्षीय रणनीतिक योजना अनुसार काम गरिएको जनाउँदै बरिष्ठतम् न्यायधीश भट्टराईले अन्यायमा परेका मान्छेहरुलाई महसुस हुने गरी न्याय सम्पादनका काम गरिएको बताउनुभयो । अदालतले सार्वजनिक सरोकारका मुद्दाहरु महत्वका साथ हेर्दै आएको उहाँको भनाई थियो ।
अदालतका शाखा अधिकृत खेमराज तिमिल्सेनाले आव.०७७÷०७८ मा सात सय ३३, ०७८÷०७९ मा नौ सय ५८ र २०७९÷८० मा नौ सय २२ मुद्दा संख्या रहेको जनाउनुभयो । जसमा मुद्दाको फछ्र्यौट क्रमशः ६४, ७४ र ८३ प्रतिशत रहेको उहाँको भनाई थियो ।