OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ५, २०८०सुर्खेत
९५ पटक

५ फागुन २०८०, शनिबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संघीयता कर्णालीवासीका लागि वरदान सावित भएको बताउनुभएको छ ।

ऋति फाउण्डेसनद्वारा आज वीरेन्द्रनगर सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन गरिएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ पाँचौं संस्करणको उद्घाटन गर्दै उहाँले संघीय व्यवस्थाकै कारण यहाँका नागरिकहरुको जीवनस्तर माथि उठेको र यसले विचार र विमर्शको थालनी गरेको जनाउनुभयो । उहाँले संविधानले व्यवस्था गरेका साझा तथा एकल सूचीका अधिकारको भरपुर उपयोगले संघीयता अँझ बलियो बन्ने बताउनुभयो ।

“तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अगाडि बढ्नुपर्दछ,” प्रदेश प्रमुख परियारले भन्नुभयो, “त्यो हुन सकेमात्र कर्णालीको जलविद्युत, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारको विकास हुन सक्छ ।” राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कर्णालीलाई चिनाउन गरिएको उत्सवः कुडा कर्नालीले थालेको बहसले नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको उहाँको भनाई थियो ।

तीन दिनसम्म संञ्चालन हुने उत्सवमा प्रकोप र पुनःर्निमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । कर्णालीको रुपान्तरणको लागि चिन्तनका साथै गन्थन, मन्थनबाट कर्णाली केलाईने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ ।

उद्घाटन सत्रमा आयोजक सहर ‘वीरेन्द्रनगरमा बहसको बहार’ विषयमा मन्तव्य व्यक्त गर्दैै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ सवाल पैदा भएको बताउनुभयो । कुराबाट विचार उत्पन्न भएर विचारले विकासमा टेवा पुग्ने बताउँदै उहाँले सामाजिक न्यायका हिसाबले पछि परेको कर्णालीका लागि नवीन बहस जरुरी रहेको जनाउनुभयो ।

ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णालीमा राष्ट्रियस्तरको बहसको आवश्यक रहेको महसुस गरी विसं.२०७६ सालदेखि कर्णाली उत्सवको यात्रा निरन्तर चलिरहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीले आफ्नो कुरा आफैं भन्न र विचारको बहसबाट देशको चिन्तन गर्न थालेको छ । कर्णालीलाई मात्र नभई देशलाई अन्तर्राष्ट्रियस्तरमा चिन्न चिनाउन उत्सव उत्प्रेरक बनेको उहाँले दावी गर्नुभयो ।

उद्घाटन समारोहमा डा.सुधा शर्माले विद्धत प्रवचन, इतिहासकार प्रा.डा राजाराम सुवेदीको कर्णाली धरोहर र मनोहर, समाजसेवी म्याडी डोयनको ‘अ जर्नी फ्रम जर्जी टु कर्णाली’को विद्धत प्रवचन प्रस्तुत गरिएको थियो । पैकेलोको रुपमा जीवन प्रशिक्षक नरबहादुर कार्कीले आफ्नो जीवनी प्रस्तुत गर्नुभयो ।

उत्सवको पाँचौँ संस्करणमा १३ सेसन, तीनवटा पैकेलोको प्रस्तुति, तीनवटै विद्धत प्रवचन र हरेक दिन सांगीतिक÷साहित्यिक साँझ सञ्चालन हुने मूल आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्