सुर्खेत, २५ बैशाख २०७७ : भेरीगंगा नगरपालिका ४ सुर्खेतका किसानहरुले गहुँबाली भित्र्याउन नपाउँदै बारीमा कुहिएको छ । लगतारको वर्षात्ले उनीहरुको गहुँबाली बारीमै नष्ट भएको हो ।
भेरीगंगा ४ सुर्खेतका हर्रे, मसिना, सानो हर्रे, हान्ने सिमल, अमलसेनी, खोर्रे, मुरली गाउँका १६२ घरधुरी किसानहरुको गहुँबाली नष्ट भएको सोही वडाका स्थानीय किसान हेमन्तप्रकाश ओलीले जानकारी दिनुभयो । “हाम्रो ४६२ रोपनी क्षेत्रफलमा लगाएको गहुँबाली भित्र्याउन नपाएर बारीमै कुहिएको छ,” पीडा पोख्दै किसान ओलीले भन्नुभयो, “यसबाट ७५१ क्वीन्टल (७५ मेट्रिक टन) क्षति भएको छ ।”
मुखमा हाल्ने बेलाको गास नै खोसिँदा यहाँका किसानहरु पुर्पुरोमा हात लगाउनुपर्ने बाध्यता आईलागेको उहाँले बताउनुभयो । एकातिर गहुँबाली नष्ट भएर भोकमरी हुने र अर्कोतिर अर्को बालीका लागि संकलन गर्ने बीउसमेत नहुने भन्दै ओलीले कोरोना भाइरसको महामारीले भन्दा भोकमरीले मर्ने डर भएको उब्जिएको दुखेसो गर्नुभयो । यसबाट गहुँबालीमा निर्भर यहाँका करिब एक हजार जनसंख्या प्रभावित हुने उहाँको भनाई थियो ।
त्यस्तै अर्का कृषक झकबहादुर खत्रीले गहुँबाली पाकेर भित्र्याउने समयमा निरन्तर वर्षात् भएपछि स्याहार्न नसकिएको बताउनुभयो । “पानी आएपछि गहुँ बारीमै ढल्यो, कुहियो र त्यही कुहिएको बालोबाट पुन गहुँ उम्रन थाल्यो । तर भित्र्याउने कुनै सीप भएन,” खत्रीले भन्नुभयो । कोरोनाको महामारीका साथै लकडाउनले अबको उत्पादनमा कमी आउने उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले क्षतिको विवरण संकलन गर्न त्यहाँका किसानहरुलाई सुझाउनुभएको छ । किसानहरुको वास्तविक समस्यालाई बुझेर सक्दो राहत सहयोग गर्ने मन्त्री केसीले बताउनुभएको छ । उहाँले स्थानीय किसानहरुलाई वर्षे बाली उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित कृषि उपज बजारीकरण हुन नसके सरकारले सहजीकरण गर्ने जनाउनुभएको छ ।
दाना शाही बैशाख २५, २०७७सुर्खेत
६३६ पटक
- जुम्ली फुटबल खेलाडीलाई मार्सी ब्वाईज फुटसल टोलीको स्वागत
- दुर्गममा हवाई सेवा दिने कम्पनीलाई प्रदेश सरकारको पूर्ण सहयोग हुन्छः मन्त्री अधिकारी
- जुम्ला पत्रकार महासंघको दोस्रो बैठकको निर्णयः विधान विपरीत महेश नेपालीलाई सल्लाहकार नियुक्त
- प्रेस सेन्टर जुम्लाको अध्यक्षमा दिलमाया शाही चयन
- नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा शर्मा विजयी
- नलगाडमा माओवादीका लामिछाने उपमेयरमा विजयी : जनयुद्ध, पत्रकारिता हुँदै नलगाडको उपमेयर
- अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक हेयको दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल
- दैलेखको दुल्लु १३ मा एमालेका शाही विजयी
- यस्तो छ, प्रेस सेन्टर नेपालको इतिहास
- कर्णाली प्रतिष्ठान : स्थायी कर्मचारीको आन्दोलन स्थगित, करार आन्दोलित