१३ साउन २०७९ शुक्रबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिकाे प्रतिवेदनले पनि कुनै गलत नदेखाएकाे बताउनुभएकाे ५ । प्रेस सेन्टरकाे दाेस्राे पूर्ण बैठकमा बाेल्दै प्रचण्डले भन्नुभयाे ‘शर्मामाथि संसदीय छानबिनका लागि १० दिनको सयम दिइयो,’ ‘सात दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’
शर्माले ल्याएको बजेटको राम्रो प्रचार हुन थालेपछि करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर प्रचार गरिएको दाबी प्रचण्डको छ । ‘यो बजेट राम्रो छ भन्ने छँदै थियो सबैतिर, सबैले त्यसलाई स्वागत गर्दै थिए । राति २ बजे अनधिकृत मान्छेलाई ल्यायो, करका दरमा हेरफेर गर्यो । अर्थमन्त्रीलाई कारवाही गर्नुपर्छ भनेर यतिधेरै प्रचार गरियो ।’
छानबिनको कुरा उठाएपछि आफूले त्यसलाई स्वीकार गरेर छानबीन समिति बनाइएकाे उहाँले बताउनुभयाे । उहाँले अगाडि भन्नुभयाे ‘ अनि मैले नै छानबिन गरम ल भनेको । खाएको विष पो लाग्छ, नखाएको लाग्दैन नि । छानबिन गर्न तयार भयौं। संसदीय छानबिन भयो ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर ओैल्याउँदै उहाँले एसपीपीमा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि विक्षिप्त भएर अर्थमन्त्रीको कुरा चर्को गरि उठाएको जिकिर गर्नुभयाे । ‘एसपीपीबारे विवाद बढेपछि केही मान्छेहरुको टाउको दुख्यो । बदनाम हुने भइयो, बडो राष्ट्रवादी छवि भनेर जनतालाई भ्रम दिएकाहरु एकपछि अर्को राष्ट्रघात पो गरेका रहेछन भन्ने प्रमाण प्रस्तुत भएपछि उनीहरु विक्षिप्त भए ।’ प्रचण्डले भन्नुभयाे ।
खाएको विष पो लाग्छ नखाएको लाग्दैन
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताउनुभयाे । काठमाडौंमा आज आयाेजित प्रेस सेन्टरकाे दाेस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै उहाँले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले शर्मालाई निर्दोष सावित गरेको बताउनुभयाे ।
उहाँले ओली सरकारले एसपीपी सम्झौता गरेको कुरा पेरिस डाँडाबाट आफूले पहिलो पटक सार्वजनिक गरेको र तत्काल सम्झौता तोड्न बालुवाटारमा गएर प्रधानमन्त्रीलाई भनेको खुलासा गर्नुभयाे । माओवादी केन्द्रकै पहलमा आज नै एसपीपी सम्झौतामा नेपाल सहभागी हुँदैन भन्ने चिठी अमेरिका पठाएको उहाँले जनाउनुभयाे । एसपीपी सम्झौता गरेको खुलासा गरेपछि केही मान्छेहरूको टाउको दुखेको र उनीहरुले अर्थमन्त्रीले करको दर हेरफेर गरेको भनेर अनेक लफडा झिकेको आराेप लगाउनुभयाे ।
उहाँले भन्नुभयाे ‘करको दर हेरफेर गरेको आरोप लगाएर कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नी भनेर संसदीय छानविन समिति नै सहि भनेर छानविन समिति बनाउन भनेँ । प्रचण्डले यी विषयहरुलाई जनताको बीचमा लैजान आग्रह गर्नुभयाे ।
संविधानको रक्षा, गणतन्त्रको रक्षा र देशको आवश्यकताले गठबन्धन बनाएको भन्दै उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछिसम्म अहिलेको गठबन्धन कायम रहने जनाउनुभयाे। यहि गठबन्धनबाट निर्वाचनमा जाने र शान्ति प्रक्रिया टुङ्ग्याउने बताउनुभएकाे अध्यक्ष प्रचण्डले चुनावअघि तत्काल समाजवादी केन्द्र नबन्ने प्रष्टयाउनुभएकाे थियाे ।