जुम्ला माघ २७ गते,
मुगुका सांसद मोहन बाँनियाले बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी एक महिला असुरक्षित छिन । आफुलाई चौतर्फी धम्की र प्रलोभन देखाउने गरेको पीडित महिला बताउँछिन ।
जाहेरी दिदाको भोलिपल्ट सांसद बाँनियका ज्वाईले प्रत्यक्ष भेटेर भोलि बिहानै १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौँ । जाहेरी फिर्ता लिनुस । भनेका थिए । पीडित महिलाले भनिन्,‘मैले जाहेरी दिइसके । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुदैन् । जे गर्छ कानुनले गर्छ । ’ जाहेरी फिर्ता फिर्ता लिन आग्रह गर्दै मोहन बाँनियाकी छोरीले फोन गरेर प्रलोभन देखाएको उनले बताइन् ।
मोहन बाँनियाको छोरा मदन बाँनियाले जाहेरी दिएको दिनमै उनलाई जाहेरीले कुनै असर नपर्ने भन्दै धम्कि दिएका थिए । पीडित महिलाले थपिन,‘म जाहेरी बोकेर जिप्रका जाँदै थिएँ । बाँनियाका छोराले तपाईले जाहेरी दिदैमा कुनै असर पर्दैन । यस्ता करणी घटना कैयौ बेहोरी सक्यौँ । यसको कुनै तुक छैन ।’ बाँनियाका आफन्तजनले पटक पटक फोन गरेर या प्रत्यक्ष भेटेर धम्की दिइरहेको उनले बताइन ।
पीडित महिलाले एक हप्ता अगाडि सामाजिक सञ्जालमा मेरो ज्यान जोखिममा छ । म मरे भने सांसद बाँनियाकै कारणले मर्नेछु । उहाँ नै जवाफदेही हुुनु हुनेछ भन्दै स्टाटस लेखेकी थिइन ।
यो घटनालाई दबाउनको लागि कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय रहेका छन । उनले पीडित महिलालाई धम्क्याउने देखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिनको लागि दबाव दिइरहेका छन ।
पीडित महिलाका अनुसार जाहेरी दिदाको दिनमा सांसद परियार बाँकेमा समेत पुगेका थिए । उनले पीडित महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छौ । भन्दै धम्क्याएका थिए । आर्थिक लेनदेनको बिषयमा मिलापत्र गर्न पटक पटक दबाब दिदै आएको पीडित महिला बताउँछिन ।
पटक पटक लिएको आर्थिक फिर्ता गर्न आग्रह गरेपछि सांसद बाँनियाले २५ लाख रुपैयाँको चेक काटेका थिए । राष्ट्यि बाणिज्य बैंकको चेकमा रहेको खातामा रुपैयाँ थिएन । चेक बाउन्स भएको छ । त्यही बाउन्स भएको चेक समेत पीडितबाट कर्णाली प्रदेशका सांसद परियार सहितको टोली खोसेको थियो ।
पीडित महिलाले सांसद बाँनियाले जाहेरीमा नेपालगंज स्थित अप्सरा होटलमा बलत्कार गरेको खुलाएकी छिन । उनले भनिन्,‘बाँनियाले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे । ’