OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १२, २०७६सुर्खेत
७३३ पटक

सुर्खेत, १२ पुस ः केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले ‘राष्ट्रिय जनगणना २०७८’ को महाअभियानमा लाग्न सरोकारवालाहरु सबैलाई आग्रह गर्नुभएको छ ।
केन्द्रीय तथ्याङ्क विभागद्वारा आज कर्णाली प्रदेशको राजधाधनी सुर्खेतमा आयोजित ‘सञ्चारकर्मीसँगको अन्तरक्रिया’ कार्यक्रममा ‘राष्ट्रिय जनगणना २०७८’ को तयारी र आगामी योजनाका बारेमा निर्देशक लामिछानेले जानकारी दिनुभयो । उहाँले १५ महीनापछि हुने जनगणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्याङ्क संकलनमा सबैको महतत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
“राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्याङ्क नै देशको मूल तथ्याङ्क हो,” उहाँले भन्नुभयो, “यही वास्तविक तथ्याङ्कलाई मूल आधार बनाएर सरकारले राष्ट्रिय नीति र विकास निर्माणमा योजना बनाउने हो ।” विभागले ‘मेरो गणना, मेरो सहभागिता’ नारा तयगरी चालू आवको माघ १ गतेदेखि चैत्र मसान्तसम्म नमूना जनगणना सम्पन्न गर्ने बताउनुभएका निर्देशक लामिछानेले राज्यका सबै संयन्त्रलाई परिचालित गरेर वास्तविक जनगणना गरिने दावी गर्नुभयो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले विभागलाई स्पष्ट कार्यविधि बनाएर अघि बढ्न सुझाउनुभयो । प्रजिअ अधिकारीले मुख्यगरी गणकहरुको प्रभावकारी परिचालन हुनुपर्नेमा जोड दिनुभयो । गृह जिल्लाको नागरिकता बनाएर बाहिर बस्ने संख्या अधिकतम भएकाले दोहोरा पर्ने सक्ने कुरामा ध्यान दिन आग्रह गर्दै उहाँले सकेसम्म ईन्टरनेटबाटै घरघरमा जनगणना लिने अवसर मिलोस् भन्ने शुभकामना दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले एक फरक प्रसंगमा गृह मन्त्रालयको निर्देशन बमोजिम छाउगोठ भत्काउने अभियान सुर्खेतमा पनि शुरुभएको र त्यस्तो परिवारलाई सामाजिक सुरक्षासमेत रोक्ने निर्देशन भईसकेको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारहरुले जनगणनालाई सहयोग पुग्नेगरी समाचार प्रवाह गर्न आग्रह गर्नुभयो ।
कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले यौनिक अल्पसंख्यक र राउटेहरुको वास्तविक तथ्याङ्क संकलनमा ध्यान दिन आग्रह गर्नुभयो । “उनीहरु खुल्न चाहँदैनन् र राउटेहरुको पनि शुरुको दिनमा करिब सात सय संख्या रहेकोमा हाल चार सयको तथ्याङ्क मात्र छ । तिनको वास्तविक गणना हुन जरुरी छ,” उहाँले भन्नुभयो ।
बेरोजगारलाई गणकमा प्राथमिकता

विभागले ‘राष्ट्रिय जनगणना २०७८’ मा बेरोजगार युवाहरुलाई गणक बनाउन प्राथमिकता दिने भएको छ । मुलुकमा भएको बेरोजगार जनशक्तिलाई उपयोग गर्ने उद्देश्यले युवालाई करार कर्मचारीका रुपमा लिने निर्देशक लामिछानेले जनाउनुभयो ।
उहाँले भन्नुभयो, “हामी आगामी जनगणनामा युवा गणक परिचालनमा जोड दिने तयारी गरिरहेका छौं । कुनै पनि व्यक्तिको अक्सर बसोबास र छ महीनादेखि बसोबास गर्ने ठाउँबाटै जनगणना गर्ने विधि अपनाईने छ ।” अबको जनगणना गर्दा पूर्ण गणना हुने भन्दै उहाँले सबै तहका सरकार, सरोकारवाला निकाय, संघ, संगठन, सञ्चार माध्यमहरुसँग समन्वय गरेर अघि बढ्ने जनाउनुभयो ।
उहाँका अनुसार ‘राष्ट्रिय जनगणना २०७८’ मा ५४ हजार ४१३ जनशक्ति संलग्न हुनेछन् । जसमा ४३ हजार २७७ गणकको मात्र संख्या हुनेछ । उक्त जनगणनामा राष्ट्रिय प्राथमिकता, अन्तराष्ट्रिय तुलना, उपयुक्तता, संसाधान र वैकल्पिक स्रोत मूल आधार बनाएर प्रश्नावलीका साथै पारिवारिक र व्यक्तिगत विवरणलाई मुख्य प्रश्नावली फारम बनाएर जनगणना लिईने विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्