OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २८, २०७८सुर्खेत
५०२ पटक

 २८ असार २०७८, सोमबार

कर्णाली प्रदेश सरकारले रु.तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ ।

सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको जोखिममा खटिएका दशवटै जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई जोखिम भत्ता उपलब्ध गराउन रु.तीन करोड २७ लाख ८३ हजार ४८७ रकम निकासा दिएको हो ।

मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले अग्रपंत्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक विकास मन्त्रालयले १० जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कोरोना महामारीमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकहरुलाई प्रमाणित अभिलेखका आधारमा शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गरिएको हो ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कोरोना महामारीमा जोखिम मोलेर काम गर्ने प्रदेशभरका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स तथा शव वाहन चालकलाई जोखिम भत्ता उपलब्ध गरिएको बताउनुभयो । जोखिममा काम गरेका फ्रन्टलाइनरलाई सरकारले सधैं सम्मान र प्रोत्साहन गर्ने मन्त्री बुढाक्षेत्रीले जनाउनुभयो ।

मन्त्रालयका सचिव काप्रीका अनुसार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि रु.चार लाख ८८ हजार ९१० निकासा दिएको छ । यस्तै, प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, शव वहान चालकका लागि रु.३८ लाख ६१ हजार १५२ निकासा दिएको छ ।

त्यसैगरी, प्रदेश आयुर्वेद औषधालयलाई रु.पाँच लाख ३३ हजार ९५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई रु.२६ लाख २० हजार २००, मेहलकुना अस्पताललाई रु.आठ लाख ९३ हजार २४, स्वास्थ्य सेवा कार्यालयहरुमा सल्यानलाई रु.३५ लाख, जाजरकोटलाई रु.२३ लाख ५५ हजार २९०, मुगुलाई रु.३१ लाख १९ हजार ११६, दैलेखलाई रु.५३ लाख ३८ हजार १८०, रुकुमपश्चिमलाई रु.१७ लाख आठ हजार ७७५, हुम्लालाई रु.३५ लाख सात हजार ३०० र डोल्पालाई रु.१५ लाख चार हजार ६८ निकासा दिइएको छ ।

प्रतिकृया दिनुहोस्