

सुर्खेत, ७ पुस ः कर्णाली प्रदेशसभाका सदस्यहरुले संविधानमा लेखिएका कुरा कार्यान्वयन आउनुपर्नेमा जोड दिएका छन् ।
‘ख्रीष्टमस तथा नववर्ष २०२०’को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले संविधानमा लेखिएका कुरा कार्यान्वयनमा नआएका कारण विभिन्न जाति, भाषा, धर्म र संस्कृतिमा आस्था राख्नेहरुलाई कठिनाई भएको बताउनुभयो ।
“आस्थाका आधारमा कसैलाई होच्याउन पाईदैन,” अध्यक्ष नेपालीले भन्नुभयो, “सबै धर्मलाई सम्मान गर्नुपर्छ ।” विभेद र विभिन्न हिसाबले पछाडि परेका धार्मिक, भाषिक र अल्पसंख्यकहरुको हितमा आगामी दिनमा संसदमा आवाज उठाउने उहाँको भनाई थियो ।
कार्यक्रममा कर्णाली प्रदेशसभा सत्तापक्षका सचेतक सीताकुमारी नेपालीले धर्मलाई विज्ञानसँग जोडेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको मर्म अनुसार मुलुक अघि बढ्नुपर्ने भन्दै ईसाईहरुले राखेका मागहरुलाई जनप्रतिनिधिका हिसाबले आगामी संसदमा कुरा उठाउने प्रतिवद्धता गर्नुभयो । ईसाईहरुको समाधिस्थलको लागि पनि पहल गर्ने उहाँको भनाई थियो ।
प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले शान्तिप्रिय नागरिक हुन पाउनु ईसाई धर्मावलम्बीहरुको नैसर्गिक अधिकार हो भन्नुभयो । यशुका अनुयायीहरुले पनि मुलुकमा स्वतन्त्रा पाउनुपर्नेमा उहाँको जोड थियो । मुलुक समृद्धिमा ईसाइरुको पनि योगदान रहेको टिप्पणी गर्दै उहाँले अधिकार प्राप्तिका निम्ति बहस, संवाद चलाउन आग्रह गर्नुभयो ।
त्यसैगरी प्रदेशसभा सदस्यद्वय रातो कामी र पद्मका खडकाले एकले अर्को धर्मलाई सम्मानगरी आपसी एकता कायम गरेमात्र मुलुकको विकास र समृद्धिमा सहयोग पुग्ने औंल्याउनुभयो । प्रदेशसभा सदस्य दानसिंह परियारले व्यक्तिको धर्म भएपनि राज्यको धर्म नहुने तर्क गर्दै समाजमा भएको अन्याय, असमानता र विभेदका विरुद्ध आफूले बोल्दै आएको बताउनुभयो ।
“ईसाई समाजमा विभेद कम समानता बढी छ भन्ने सुनेको छु,” सदस्य परियारले भन्नुभयो, “यद्यपि अविजात वर्ग त्यसभित्र घुस्न हुँदैन ।” उहाँले राज्यले सबै जाति, धर्म, भाषा र संस्कृतिलाई समान दृष्टिकोणले हेर्नुपर्नेमा उहाँको जोड थियो ।
उक्त कार्यक्रममा रेभरेण्ड डा. बालकृष्ण शर्माले शान्ति र अहिंसाबाट मुलुकको समृद्धि र विकासमा सहयोग पुग्ने बताउनुभयो । मानव जीवनमा हरेक नागरिकहरुले असल कुरामा आस्था नराख्ने स्थिति सृजना भईरहे राज्यले चाहेको मानव विकास नहुने उहाँको दावी थियो ।
ईसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ड पास्टर पदम गैरेले धर्म, धर्मनिरपेक्षता, त्यसको विश्वव्यापी मान्यता, संविधानको मूल मर्म, देवानी फौजदारी संहिता र लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्ष राज्यमा ईसाईहरुले भोग्नुपरेका समस्या र आवश्यक मागसहितको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष गरैले ईसाईहरुले भ्रमण वर्षलाई सहयोग गर्नेगरी अहिले पनि ब्यानर लोगो राखेको र नव वर्षमा समेत सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्ने वक्ताहरुले धार्मिक सद्भाव साटासाटले नेपाली नेपालीबीच एकता कायम हुने बताएका थिए । कार्यक्रममा सरोकारवालाहरुसहित १५० ईसाई धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।