OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १८, २०७८ सुर्खेत
७१७ पटक

१८ असार २०७८, शुक्रबार

कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । तीन साता पुग्नै लाग्दा पनि कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन ।

पटक पटक प्रदेशसभाको बैठक बस्छ तर कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित हुने गर्दछ । यस अघि पनि तीन पटक बैठक स्थगित भएको थियो । प्रदेशसभाको आठौं अधिवेशनअन्तरगत आज बसेको चौधौं बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नपाएर स्थगित भएको छ । सभामुख राजबहादुर शाहीले बैठकको कारवाही अगाडि बढाउन खोज्दा त्यही बीचमा नकेपा एमाले कर्णाली प्रदेशसभा दलका सदस्य देवीले ओलीले सर्वोच्च पुनर्बहाली गरेका एमालेका चार जनाको निर्णय कार्यान्वयन नभएको आरोप लगाउनुभयो ।

“जेठ ३१ गते सभामुख शाहीले वाचन गरेर अनुसार निर्णय कार्यान्वयन भएको हुन सकेन,” सदस्य ओलीले भन्नुभयो, “एमाले प्रदेशसभा दलले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेल सभाको काम कारवाही प्रक्रिया अगाडि बढ्न दिँदैनौं ।” संवैधानिक र कानूनी व्यवस्था एकातिर तर व्यवहारिक अभ्यास अर्कोतिर गरिएको टिप्पणी गर्दै उहाँले बजेट तथा सभाको बैठक सुचारु गर्न सबै दलको जिम्मेवारी उत्तिकै रहेको औंल्याउनुभयो ।

त्यसैगरी, बैठकमा एमालेका प्रदेशसभा सदस्य दानसिंह परियारले संसदीय व्यवस्था अनुसार काम नहुँदा बैठक अवरोध गर्नु परेको बताउनुभयो । “चारै जनालाई सर्वोच्चले पुनर्बहाली गरेपछि सभामुख शाहीले जेठ ३१ गते सभामा नेकपा एमालेका चार जना भनेर पत्र वाचन गरेपछि अब कर्णालीमा एमालेको अवस्था नयाँ समीकरणसहित अघि बढ्यो भन्ने हामीले सोच्यौं,” सदस्य परियारले भन्नुभयो, “तर आज उनै व्यक्ति सत्तामा र एमालेको विरुद्धमा सरकारको नेतृत्व गरिरहेका छन् । हामी हेरिबसेका छौँ । हामीलाई लज्जाबोध भइरहेको छ ।”

गएको बैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेपनि नेकपाल एमाले कर्णाली प्रदेशसभा दलको सिफारिसमा नेकपा एमाले पार्टीले प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्कासन गरेको थियो ।

पार्टीबाट सर्वोच्चले एमाले बनाइदिँदा पनि एमालेको पक्षमा नभएका बहालवाला तीन मन्त्रीहरु दलीय व्यवस्था विपरित सरकार सञ्चालनमा सहभागी भएका कारण एमालेले बैठक अवरुद्ध गरेको सदस्य परियारले प्रष्ट्याउनुभयो । त्यसबीचमा सभामुख शाहीले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । अन्ततः अवरोध नहटेपछि सभामुख शाहीले असार २४ गते दिउँसो २ः०० बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्