OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १८, २०७८सुर्खेत
९६९ पटक

१८ असार २०७८, शुक्रबार

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु गरिएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि पाक्षिक रुपमा शिविरमार्फत् विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गर्ने गरी शिविर शुरु गरेको हो । सेवा शुरु भएसँगै सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने यहाँका नागरिकहरुको बाध्यता तत्कालका निम्ति हटेको छ ।

सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु हुँदा बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दाहरु खुशी भएका छन् । साउनसम्म यो सेवा पाक्षिक र भदौदेखि साप्ताहिक सेवा शुरु गर्ने लक्ष्य लिईएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।

उक्त शिविरमा पहिलो पटक हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पदम गिरी र डा. रवीन केसीले पश्चिम क्षेत्रका नागरिकहरुलाई निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गर्नुभएको छ । “शिविरमा एकै दिन ५५ जना स्थानीयको चेकजाँच ग¥यौं,” डा.गिरीले भन्नुभयो, “अधिकांशमा हड्डी र नसाको समस्या देखियो ।” विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीहरुलाई एक्सरे, ल्यावसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले राजधानीभित्रकै भूगोल भएपनि पश्चिम सुर्खेत स्वास्थ्यका दृष्टिकोणले निकै पछाडि रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताउनुभयो । कर्णालीमै उपलब्ध जनशक्तिबाट यहाँका सबै नागरिकहरुलाई घर–आँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारले लिएको मन्त्री बुढाक्षेत्रीले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्