OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ३, २०७६सुर्खेत
३६० पटक

सुर्खेत, ३ पुस ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तालिकामा रहेर काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भसहित विकास योजना निर्माणको अनुगमन गर्न कालीकोट पुग्नुभएका मुख्यमन्त्री शाहीले आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई एकै ठाउँमा राखेर बजेटको कार्यान्वयनको प्रभावकारिता र समयसीमामा रहेर काम गर्न निर्देशन दिनुभएको हो ।
“विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अंग भनेकै स्थायी संयन्त्र कर्मचारी हो,” उहाँले भन्नुभयो, “तसर्थ सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिका अनुसार काममा निर्वाध लाग्नुहोस् ।” कर्णालीको भौगोलिकता विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौति भएको भन्दै जनशक्ति त्यसको व्यवस्थापनमा प्रदेश सरकार लागि परेको उहाँको भनाई थियो ।
मुख्यमन्त्री शाहीले कालीकोटका स्थानीय तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षहरुलाई राखेर संघीयता र जनताको मर्म अनुसार विकास योजनाको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनिकरणमा केन्द्रीत हुन सुझाउनुभयो । संविधान, संघीयताको मर्म र जनअपेक्षा अनुसार विकास हुन नसकेको भन्दै उहाँले सबै तहका सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
अस्पताल अनुगमन
मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, स्वास्थ्य सेवा कार्यालय कालीकोटको अनुगमन गर्नुभएको छ ।
तीन अघि कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा.मानबहादुर विकलगायतले उक्त अस्पतालको अनुगमनगरी उपचार सेवा, जनशक्ति परिचालन र उपकरणको प्रयाप्तताका बारेमा जानकारी लिनुभएको थियो ।
मुख्यमन्त्री नेतृत्वको टोलीले आजै स्वास्थ्य कार्यालयको भौतिक संरचना, जनशक्ति र सेवा प्रवाह अवस्थाका अनुगमन गरेको छ । अनुगमनका क्रममा हाल ३० शैयाको अस्पतालमा जनशक्तिको कमी, भौतिक उपकरण तथा संरचना अभावले सेवा प्रवाहमा देखिएको समस्या तीनै तहका सरकारको समन्वयमा समधान गर्ने मुख्यमन्त्री शाहीले बताउनुभएको छ ।
कार्यालय निर्मार्णाधिन ५० शैयाको अस्पतालको पनि मुख्यमन्त्री शाही नेतृत्वको टोलीले अनुगमन गरेको छ । मान्म पञ्चदेवल नमूना विद्यालय भवनको शिलन्यास गर्नुभएका उहाँले पञ्चदेवल पर्यटनस्थलको पनि अनुगमन गर्नुभएको थियो ।
निर्देशक समितिको बैठक
चालु आव.मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गर्ने लक्षित वर्ग विशेष कार्यक्रमअन्तरगत निर्देशक समितिको बैठक मुख्यमन्त्री शाहीको अध्यक्षतामा कालीकोटमा सम्पन्न गरिएको छ ।
सम्बन्धित क्षेत्रको सांसदलाई राखेर लक्षित वर्ग विशेष कार्यक्रमको कार्यान्वयन, गाउँस्तरमा हुने कार्यक्रमको सञ्चालन, बस्तीमै पुगेर हुने सञ्चालक समिति गठन गर्नेलगायतका विषयमा बैठकमा छलफल भएको कृषिमन्त्री केसीले जानकारी दिनुभयो । मन्त्री केसीका अनुसार सहकारी नमुना गाउँको कार्यक्रम प्रभावकारिताका लागि नरहरिनाथ गाउँपालिका र समन्वय प्रमुखसँग पनि छलफल गरिएको थियो ।
यही मंसिर २७ गते जाजरकोट पुगेर उहाँले कार्यालय प्रमुखहरुलाई बजेट कार्यान्वयनमा तीव्रता दिन निर्देशन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्