OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०७८सुर्खेत
७५० पटक

१५ असार २०७८ मंगलबार

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको उच्च सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताउनुभएको छ ।

‘१८औं राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासीलगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले खाद्यान्नको प्रमुख आधार मानिएको धानको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउन कृषि, कृषक र श्रमको उच्च सम्मान हुनुपर्नेमा जोड दिनुभएको हो ।

शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख कलौनीले भन्नुभएको छः “कृषि प्रधान हाम्रो मुलुकमा कृषकको मनोबल उच्च बनाई उहाँहरुको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ असार महिनामा कृषि कर्म गर्दै विशेष गरी आजको यो महत्वपूर्ण दिनमा हिलो खेल्ने, दही चिउरा खाने गरिन्छ । रोपाइँमा एक–आपसमा सघाउने (परिमो) र रोप्दै असारे भाकाका गीत गाउने जस्ता क्रियाकलापहरुले हामी सम्पूर्ण नेपालीबीच आपसी भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप बलियो बनाउँदै आएको छ ।”

उहाँले ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ यस वर्षको मूल नाराले मुलुकमा धानको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षाको अवस्थामा सुधार, आयात प्रतिस्थापनबाट धानमा आत्मनिर्भर र व्यावसायिक उत्पादनमार्फत समृद्धि हाँसिल गर्न सकिने विद्यमान अवस्थालाई चित्रण गरेको जनाउँदै त्यसको लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यावसायिक कृषिमा रुपान्तरणतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

कोभिड–१९ को महामारीबाट बच्न सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गरी कृषि कर्ममा लाग्न आह्वान गर्नुभएका प्रदेश प्रमुख कलौनीले व्यवसायिक कृषिप्रति नयाँ पुस्ताको आकर्षण बढाउन सकिए कृषिमा आत्मनिर्भर नेपाल निर्माणमा सघाउन पुग्ने र त्यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा हुने विश्वास लिएको जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्