OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०७८सुर्खेत
८४१ पटक

११ असार २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ‘मोवाइल शिविर’ सञ्चालन गर्ने भएको छ ।

प्रदेश राजधानी सुर्खेत भएपनि स्वास्थ्य, शिक्षाका दृष्टिले पश्चिम सुर्खेत निकै पछाडि छ । सो क्षेत्रमा स्वास्थ्य सेवा दिने उद्देश्यले असार १५ गतेदेखि विशेषज्ञ सेवासहितको ‘मोबाइल शिविर’ सञ्चालन गरिने प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

“पश्चिम सुर्खेतका नागरिकहरु सामान्य बिरामी हुँदा सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता छ,” मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “त्यही बाध्यताबाट त्यहाँका नागरिकहरुलाई मुक्त गर्न घर आँगनमै सेवा दिने तयारी गर्दैछौं ।” वर्षाको समयमा असार र साउनमा दुई पटक कर्णाली प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा दिने प्रबन्ध मिलाईने उहाँले बताउनुभयो ।

सालकोट स्वास्थ्य चौकी चौकुने, बराहताल गाउँपालिकाका साथै पञ्चपुरी नगरपालिकाको केन्द्र भएको जनाउँदै भदौबाट भने साप्ताहिकरुपमा सेवा शुरु गरिने र सालकोटमा विशेषज्ञ सेवा हुँदा अछाम र कैलालीका नागरिकहरुले पनि सहज स्वास्थ्य सेवा पाउने उहाँले जनाउनुभयो ।

पश्चिम क्षेत्रका नागरिकहरुलाई बालरोग, स्त्रीरोग, नाक, कान र घाँटीलगायतका सेवाहरु प्रवाह गरेर सालकोटलाई पश्चिमको ‘स्वास्थ्य हव’का रुपमा विकास गर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “विशेषज्ञ सेवाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु चालू आर्थिक वर्षभित्रै खरिद गर्दैछौ । भौतिक भौतिक पूर्वाधार निर्माण आगामी वर्षबाट शुरु गर्छौंं ।”

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पश्चिम सुर्खेतका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले स्वास्थ्यको तल्लो इकाईबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति सरकारले लिएको जनाउनुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका प्रमुख डा.जीतेन्द्र यादवले सामान्य शल्यक्रिया हुन नसक्दा गरिब जनताहरु सदरमुकाम वीरेन्द्रनगर र देशका अन्य स्वास्थ्य संस्थामा पुग्नुपर्ने समस्या भएको बताउनुभयो । १५ शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएपनि जनशक्ति र स्वास्थ्य उपकरण अभावले आवश्यक सेवा दिन नसकिएको उहाँको भनाई थियो । प्रमुख यादवका अनुसार शव परीक्षणका लागि अहिले पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता रहेको छ ।

प्रतिकृया दिनुहोस्