OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ६, २०७८सुर्खेत
७८७ पटक

 ६ असार २०७८, आईतबार

कर्णाली प्रदेशमा पछिल्लो केही दिन यता कोरोना संक्रमण दर आरालो लाग्दै गएको छ । अहिले संक्रमित भन्दा निको भएर घर फर्कनेको संख्या तेब्बरले बढेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण बैशाख १० गते यता भयावह बन्दै गएको अवस्था बिस्तारै कम हुँदै गएको छ । संक्रमण जित्नेको आत्मबल बढिरहेकोले निको हुनेको संख्या तेब्बरले बढेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो । “पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट परीक्षण भएन,” निर्देशक खड्काले भन्नुभयो, “२६९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३७ मा संक्रमण पुष्टि भएको छ ।”

उहाँका अनुसार पछिल्लो २४ घण्टामा ३६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । कर्णाली प्रदेशमा आरटी पिसिआर र एन्टिजेन विधिबाट एक लाख १९ हजार ८४३ जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्य २७ हजार २३३ संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएकाहरु मध्य करिब २४ हजार व्यक्ति कोरोना संक्रमण रोगबाट निको भएर घर फर्किसकेको निर्देशक खड्काले बताउनुभयो । अब भने तीन हजार २३३ जना निको हुन बाँकी रहेको बताईएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएसँगै हालसम्म कर्णालीमा यसबाट ज्यान गुमाउनेको संख्या २९९ पुगेको उहाँको भनाई छ ।

कर्णालीमा हाल एक हजार ८४८ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७४, सल्यानमा ४९, रुकुमपश्चिममा २८ र दैलेखमा २१ ज्नाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्