OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १, २०७६सुर्खेत
५०० पटक

सुर्खेत, १ मंसिर ः कर्णाली प्रदेशका सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा ईनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा दुई दिनसम्म सञ्चालन हुने ‘कर्णाली प्रदेशसभा सदस्यहरुका लागि सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम’ विषयक कार्यशालाको उद्घाटनमा बोल्दै कानूनमन्त्री भण्डारी आधुनिक मानव समाज सूचना प्रविधिमैत्री बनिसकेको बताउनुभयो ।
“खासगरी फेसबुक, ट्वीटर, ईन्स्टाग्राम, ह्वाट्स एप, भाईबर जस्ता सामाजिक सञ्जालका विविध आयामबारे संसदहरु जानकार हुन आवश्यक छ,” मन्त्री भण्डारीले भन्नुभयो, “किनकी अबको युग भनेकै विश्वलाई नजिकबाट हेरेर आफ्नो काम अघि बढाउने हो ।” सूचना र प्रविधिको सहि सदुपयोगबाट राम्रै कुराको लाभ लिन सकिनेमा जोड दिदैं उहाँले कार्यशालामा सहभागी संसदहरुलाई अधिकतम ज्ञान लिन आग्रह गर्नुभयो ।
हामीसँग भएको मष्तिष्कलाई प्रयोगमा ल्याउन ईच्छाशक्ति र अभ्यास दुवै आवश्यक भएकोले सबैले आफूलाई उर्जाशील र आत्मप्रेरित बनाउनुपर्नेमा उहाँको जोड थियो । कार्यशालामा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले संसदहरुका लागि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष पदमबहादुर रोकायाले समय सुहाउँदो कार्यक्रम भएको तर्क दिनुभयो ।
नेपाली काँग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले प्रविधिसम्बन्धीको ज्ञान दिने कार्यशाला स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि क्यारिना श्रेष्ठले नेपाल सरकार तथा प्रदेश सरकारका सबै संसदहरुको सीप तथा क्षमता अभिवृद्धिका लागि युएनडिपीमा संसद सहयोग परियोजना रहेको र त्यही परियोजना अनुसार कर्णालीमा सहकार्य गरेर कार्यशाला सञ्चालन गरिएको बताउनुभयो ।
सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले संसदहरुलाई सञ्चार, प्रेस सम्मेलन, विज्ञप्ति, संसदमा गरिने टिप्पणी, सामाजिक सञ्जालको प्रयोग, भ्रात्मक समाचारबाट कसरी बच्ने र गलत सूचनालाई रोक्ने तरिकाबारे ज्ञान तथा सीप प्रवाह गरिने बताउनुभयो । उक्त कार्यशालामा मल्टिमिडिया विज्ञ रजनीश भण्डारीले मल्टिमिडियासम्बन्धी प्रशिक्षण दिने संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्