OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २६, २०७८सुर्खेत
७२४ पटक

२६ जेठ २०७८, बुधबार

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि सुचारु हुन सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ २४ गते सभामा राखेको मागको सरकारले वेवास्ता गरेको भन्दै सभा अवरुद्ध गरेपछि बैठक अगाडि बढ्न नसकेको हो ।

प्रदेशसभाको जेठ २४ गते बसेको पहिलो बैठकको प्रारम्भमै एमाले संसदीय दलका नेता यामलाल कँडेलले किर्ते जालसाजी सम्बन्धी फौजदारी अभियोग प्रमाणित भईसकेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त गरेमात्र संसद अगाडि बढ्न दिने धारणा व्यक्त गर्नु भएसँगै एमाले सभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । जुन अवस्था आज पनि प्रदेशसभा बैठकमा देखियो ।

सो दिन मध्यान्ह २ः०० बजेको बैठक स्थगितपछि र बेलुका ५ः०० बजे बसेको बैठक पनि एमाले सभा सदस्यहरुले अवरुद्ध गरे । बैठक अवरुद्ध गरेलगतै सभामुख राजबहादुर शाहीले जेठ २५ गते दिउसो २ःं०० बजेसम्मका लागि स्थगनको सूचना गर्नुभएको थियो ।

जेठ २५ गते सरकार र प्रतिपक्षी दलबीच तीनदेखि चार घण्टा भन्दा लामो वार्ता भयो । तर त्यसको टुङ्गो लाग्न नसक्दा प्रदेशसभाको बैठक नै बस्न सकेन । पछि प्रदेशसभा सचिवालयले विशेष कारण देखाएर मंगलबारको बैठक पनि जेठ २६ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगनको सूचना टाँस गरेको थियो ।

आज पनि बैठकको प्रारम्भमै एमाले संसदीय दलका नेता कँडेलले सरकारले राजनीतिक प्रतिशोध, पात्रको भन्दा पनि प्रवृतिका विरुद्ध कुरा उठाईएको भन्दै सरकारले मन्त्री थापाको पदमुक्तको अडान कायम राख्नुभयो । “हामीले उठाएको विषय समय बर्बादीका लागि नभई सभाको मर्यादा र सबैको मानसम्मान बढाउनका निम्ति हो,” नेता कँडेलले भन्नुभयो, “सदन शुरु हुनु अघि हामीले भनेजस्तै गरेको भए वा परिस्थिति सृजना भएपछि निर्णय लिनु पथ्र्यो तर सरकारले त्यो गर्न सकेन ।”

उहाँले अगाडि भन्नुभयो, “विषय प्रवेश गराएपछि सरकारको ध्यानाकर्षण त हुनुपर्छ नि ? यो बीचमा हाम्रो माग अनुसार व्यवहारिक ढंगबाट अघि बढेको भए हुन्थ्यो । अहिले मन्त्रालय त देखाउने मात्र हो । सरकार सम्वद्ध १० वटै जिल्लाका नेताहरु सुर्खेतका होटलमा बसेर योजना बनाईरहेका छन् । कार्यान्वयन गर्ने कार्यालयहरु हेरिरहेका छन् । हामी जनप्रतिनिधिहरु …..।

सरकारको सदनबाट नीति, कार्यक्रम तथा बजेट ल्याउने नियत नरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले जेठ २५ गते बैठकमा सरकारका तर्फबाट राखिएको प्रस्तावलाई विधिवत निर्णयका रुपमा रुपान्तरित गर्ने कुरामा माग गर्ने दलबाट सहमत भएपनि सरकारले भाग्नुपर्ने नियत किन ? भन्दै प्रश्न गर्नुभएको थियो ।

बैठकमा उहाँले सरकारद्वारा पालित पोषण मिडियाले थरी थरिका समाचार सम्प्रेषण गरेको आरोपसमेत दिनुभएको थियो । अर्को बाटोबाट बजेट ल्याउने तयारी सरकारले गरेको दोषारोपण गर्दै नेता कँडेलले सभालाई मर्यादित बनाउने प्रस्ताव नगरेसम्म अवरोध नहट्ने चेतावनी दिनुभयो । अवरोध सृजना भएपछि आधा घण्टाका स्थगित भएको आजको बैठक विशेष कारण जेठ २७ गते दिउँसो २ः०० बजेसम्मका लागि स्थगित भएको सूचना प्रदेश सचिवालये गरेको छ ।

यता प्रदेश सरकारले भने प्रतिपक्षी दलले कार्यसूचीमा नै प्रवेश गर्न नदिएपछि संसद बैठक चल्न नसकेको र यसले नीति तथा कार्यक्रम र बजेट संसदमा पेश हुन नसकेको बताएको छ ।

प्रतिकृया दिनुहोस्