OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०७८सुर्खेत
१३६८ पटक

२३ जेठ २०७८, आईतबार

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले आजबाट पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

सत्ता साझेदार दल नेपाली काँग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि खाली रहेका थिए । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले जुम्ला निवासी कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास र सुर्खेत निवासी प्रदेशसभा यज्ञबहादुर बिसीलाई सामाजिक विकास मन्त्रीमा सिफारिस गरेको थियो । त्यससँगै काँग्रेसले आचारसंहिता पनि जारी गरेको थियो ।

काँग्रेस संसदीय दलको सिफारिस बमोजिम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार बेलुका प्रदेशसभा सदस्यद्वय श्रेष्ठ र बिसीलाई क्रमशः जलस्रोत तथा उर्जा विकास र सामाजिक विकासमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्रीद्वय नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले आजबाट पूर्णता पाएको छ ।

दुई मन्त्री नियुक्त भएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शनिबार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको विसं.२०७४ फागुन ६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) र धारा १७० को उपधारा (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन भएको व्यहोरा जानकारी गर्नुभएको थियो ।

अब कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्यमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपाली, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी रहनेछन् ।

काँग्रेस संसदीय दलका नेता शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी मन्त्रिपरिषद् पूर्णताको काममा तीव्रता दिईएको बताउनुभयो । नवनियुक्त मन्त्रीद्वय श्रेष्ठ र बिसीको आजै पद तथा गोपनीयताको सपथ हुने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्