OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २१, २०७८काठमाडौं
८८८ पटक

२१ जेठ २०७८, शुक्रबार

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् ।

नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् ।

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अरु कोको भए मन्त्री ?

नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

को को बाहिरिए ?

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री नवराज राउत, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

को–को जोगिए ?

मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

गृह र रक्षा प्रधानमन्त्रीसँगै

शक्रबारको विस्तारपछि पनि गृहसहित केही मन्त्रालय अझै मन्त्रीविहीन रहे । रामबहादुर थापा बादल पदमुक्त भएपछि खाली भएको गृहसँगै रक्षा, सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय अझै पनि मन्त्रीविहीन छन् ।

हाललाई यी सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्नेछन् । अनलाईन खबरबाट

प्रतिकृया दिनुहोस्