OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २१, २०७८
१२९७ पटक

 २१ जेठ २०७८, शुक्रबार

विभेदकारी कुप्रथाको अन्त्य गर्न सक्रिय भएर लागौंः प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभेदकारी कुप्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न सरोकारवालाहरुलाई आह्वान गर्नुभएको छ ।

आज ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ को अवसरमा कर्णाली प्रदेशवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगति कामना गर्दै प्रदेश प्रमुख कलौनीले जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्रमा विभेदकारी कुप्रथा पूर्णरुपले अन्त्य भएर जानुपर्नेमा दिनुभएको छ । विभेदमुक्त घोषित मुलुकको शान्ति, विकास र समृद्धिमा अवरोध पुग्ने भएकोले समाजमा विद्यमान विभेदकारी कुप्रथाहरु अन्त्य गर्न सरोकारवालाहरु सक्रिय भूमिका हुनेपर्ने उहाँको भनाई छ ।

आज प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विसं. २०६३ जेठ २१ गते नेपाल सरकारले जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरे अनुसार नेपालमा जातीय छुवाछुत, उत्पीडन र विभेदको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गको मान्यता दिइएको छ र राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागिता हुने कुरा संविधानको मौलिक हकले सुनिश्चित गरेको छ । हाम्रो विविध जातजाति र धर्म संस्कृति बीचको एकता नै हाम्रो समाजको विशेषता हो भन्ने देखाएको छ । यही भावना र सोच हामीमा कायम भइरहोस् ।”

जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ (संशोधन) २०७५ र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) नियमावली, २०७४ जस्ता कानुनहरु निर्माण भई कार्यान्वयनमा गईसकेकोले जातीय तथा छुवाछुत विभेद नगर्न र यदि गरेको खण्डमा कसुरदारलाई कैद र जरिवानाको समेत व्यवस्था गरिएको उहँले प्रष्ट्याउनुभएको छ ।

यसबाट सम्पूर्ण दलित समुदाय तथा अन्य विभेद परेका वर्गमाथि भएका विभेद र उत्पीडन क्रमशः अन्त्य हुने आधार मुलुकमा निर्माण हुँदै गएको महसुस भएको जनाउँदै प्रदेश प्रमुख कलौनीले विभेद तथा छुवाछुत उन्मूलन दिवसले जातीय भेदभाव तथा छुवाछूतरहित समाज निर्माण गर्ने प्रेरणा सबैमा पैदा हुने विश्वास रहेको बताउनुभएको छ ।

 

प्रतिकृया दिनुहोस्