OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १८, २०७८सुर्खेत
७०२ पटक

१८ जेठ २०७८, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले कोरोना भत्ता एकमुष्ट दिने बताउनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सोमबार सहभागी हुनुभएका मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालिकोटका स्वास्थ्यकर्मीहरुसँग छलफल गर्नुभएको थियो । सो क्रममा उनीहरुले कोरोना भत्ता उपलब्ध गराईदिन अनुरोध गरेका थिए । त्यस क्रममा उहाँले प्रदेशका सबै स्वास्थ्यकर्मीहरुलाई गत र चालु आवको भत्ता एकमुष्टरुपमा तत्काल उपलब्ध गराउने विश्वास दिलाउँदै जोखिम भत्ता पाएनौं भन्ने समस्या चिर्ने बताउनुभएको थियो ।

छलफलमा अस्पतालका निमित्त प्रमुख कटक महतले १४३ जना कर्मचारी दरबन्दीको आवश्यक मागपत्र मुख्यमन्त्री शाहीलाई बुझाउँदै आइसीयु सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापन लागि आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न सुझाउँदै आवश्यक व्यवस्थापन प्रदेश सरकारले गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरु उच्च मनोबलका साथ काम गर्नुहोस् प्रदेश सरकार चिकित्सक र स्वास्थ्यकर्मीहरुकै साथमा छ । कुरा भन्दा पहिला काम गर्नुहोस् । बिजुली छैन, सोलार जडान गरिहाल्नुस् त्यसमा लाग्ने आवश्यक बजेटको सहयोग प्रदेश सरकारले गर्छ ।”

विशेषगरी स्वास्थ्य पूर्वाधार तथा विकास योजना अनुगमनका लागि गृह जिल्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्थानीय तहका प्रमुख÷अध्यक्षहरुलाई विपद् प्रतिकार्यका लागि वडास्तरमा स्वयंसेवक परिचालन गर्न मुख्यमन्त्रीको निर्देशन दिनुभएको थियो ।

कोरोना महामारी र जिल्लामा वर्षेनी प्राकृतिक प्रकोपबाट उत्पन्न हुने समस्याबारे समयमै सजग गराउन तथा तत्काल उद्धारमा सहयोग पुग्नेगरी प्रत्येक वडा तहमा स्वयंमसेवक परिचान गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले अगाडि भन्नुभयो,“ विपद्मा जनतालाई भित्र राखेर सेवक बाहिर हिड्नुपर्छ । प्रत्येक कर्मचारी, जनप्रतिनिधिलगायत सरोकारवाला निकायहरु कोरोना महामारी केन्द्रित बनौं । सबै मिलेर महामारीको सामना गरौं र जनतालाई आवश्यक राहात र दरिलो साथ दिऔं ।”

निषेधाज्ञा कडा थप कडा गर्न निर्देशन दिनुभएका मुख्यमन्त्री शाहीले कोभिड नियन्त्रणको पहिलो प्राथमिकता जनचेतना भएको बताउँदै ती क्रियाकलापमा जोड दिन तथा अब बजेट कोरोना नियन्त्रण र रोजगारी सृजनामा केन्द्रित गर्न स्थानीय तहका प्रमुखहरुलाई निर्देशन दिनुभयो । स्थानीय तहका प्रमुखहरुले हालसम्म भोगिरहेको समस्याबारे जानकारी गराउँदै स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य सामाग्रीसहित बजेटको प्रबन्ध गरिदिन उहाँलाई आग्रह गरेका थिए ।

स्थानीय तहका प्रमुखहरुले गाउँमा बिबाह, बर्तबन्ध र मलामी जानेक्रम नरोकिएकाले कोरोना संक्रमण नियन्त्रण गर्न थप चुनौति हुनुका साथै जनचेतना अभावले कोरोना परीक्षण गर्न समुदायका नागरिकहरुले नमान्दा जटिलता भएको जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्