

१० जेठ २०७८, सोमबार
नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर वरिष्ठ नेता माधव नेपाल पक्षका ११ नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेसँगै थप १२ नेतालाई स्पष्टीकरण सोधेको छ ।
नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाही गरेको छ ।
नेता नेपालसहित झलनाथ खनाल, भीम रावल लगायतलाई पार्टी सदस्यबाटै निष्कासन गरेको छ । पार्टी सदस्यबाटै निष्कासन गरिएका नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का रहेका छन् ।
पार्टीविरुद्ध गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पार्टीबाटै निष्कासन गर्ने निर्णय गरिएको छ ।
पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई चैत्र १० गते ६ महिनाका लागि निलम्बन गरिएको थियो । तर पार्टी एकता कायम राख्ने भन्दै वैशाख ३० गते कारवाही फिर्ता लिइएको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’विरुद्ध उम्मेदवार खडा गरेको र मतदान गराएको आरोप नेपाल पक्षमाथि लगाइएको छ । लोकान्तरबाट