OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ९, २०७८ सुर्खेत
६८४ पटक

 ९ जेठ २०७८, आईतबार

नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुक अहिले आक्रान्त छ । कोरोना संक्रमणका कारण बैशाख महिना यता मान्छे नमरेको कुनै दिन छैन । यसबाट हरेक दिन नेपालका १०० भन्दा बढी मान्छेहरुले ज्यान गुमाउँदै आएका छन् । कोरोनाको यो प्रभावबाट नागरिकहरुमा अधिकतम त्रास बढेको छ । मानसिकरुपमा उनीहरु कमजोर हुँदै गएका छन् ।

कोभिड महामारीको बढ्दो जोखिमबाट सृजित सन्त्रासपूर्ण अवस्थामा कोरोना रोग भन्दा त्यसको त्रासदीले धेरै नेपालीहरु प्रभावित छन् । यो अवधिमा यसको भय र चिन्ताका कारण कमजोर बन्दै गएको नागरिकहरुको त्यही मनोविज्ञानलाई बलियो बनाउन राष्ट्रव्यापी मनोपरामर्श सम्बन्धीको प्रवचन भईरहेको छ ।

मूलतः यही कोरोना महामारीबाट उत्पन्न संकटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्य समितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक ‘तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन’ भर्चुअल कार्यक्रम यही जेठ ८–१० गतेसम्म हुने गरी सञ्चालन गरेको छ । आईतबार सञ्चालित कार्यक्रमको दोस्रो सत्रमा मनोविद् बिजयवाबु सिग्देले कोरोनामाथिको विजय हाँसिलका लागि आफ्नो प्रवृति, सोच र जीवनशैली परिवर्तन गर्न जोड दिनुभयो ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै मनोविद सिग्देलले भन्नुभयो, “हामीले यो अवधिमा दिमागी व्यवस्थापन गर्न आवश्यक छ । जीवनलाई स्वस्थ, शान्त र फुर्तिलो बनाउन हरेक व्यक्तिले सकरात्मक सोच, शुद्ध खाना, सरल जीवनशैली र निरन्तर योगाभ्यास गरौं । यसका लागि हामीले दृढ अठोट राख्दै व्यक्तिगत तथा पारिवारिक जीवनलाई सुसंगठित बनाउँदै लैजानुपर्दछ ।”

उहाँले अगाडि भन्नुभयो, “कुनैपनि रोगको सत्य कारण भनेको ५० प्रतिशत आध्यात्मिक, २५ प्रतिशत मनोवैज्ञानिक, १५ प्रतिशत सामाजिक र १० प्रतिशत शारीरिक अवस्था नै हो । मष्तिष्कको उचित व्यवस्थापनबाट मात्र हामी स्वस्थ हुन सक्छौं । यसका लागि हाम्रो दैनिक आहारविहार र आनीबानीमा परिवर्तन हुनैपर्दछ ।” मूलतः कसैको आँसु र मासु नमिसिएको भोजन लिन सके मानव जीवनका लागि सर्वोत्तम हित हुने सल्लाह मनोविद् सिग्देलले दिनुभयो ।

उहाँको प्रवचनको हितोपदेशले भन्छः “फलामलाई फलामकै खियाले खाएझैं मान्छेलाई मान्छेले उब्जाएको चिन्ताले खान्छ । सूर्यलाई सूर्यले उब्जाएको बादलले खान्छ । मरेर मान्छे चित्तामा जल्छ तर जिउँदै जल्नु भनेकै चिन्ता हो । मान्छे भौतिकरुपले लड्दा उठ्छ तर मानसिकरुपले लड्दा सकिन्छ । विश्वमा कोभिड महामारी जस्तै थुप्रै रोग आए तर रोगले भन्दा शोकले मान्छे मरे । तसर्थ, शोक, चिन्ता, तनावमुक्त भएर मन र मष्तिष्कलाई शान्त राख्नुहोस्, नियमित ध्यान र योगाभ्यास गर्नुहोस्, तपाई मानसिक, सामाजिक र शारीरिकरुपमा ठिक हुनुहुन्छ ।”

उक्त भर्चुअल प्रवचन कार्यक्रममा डा.सरल शर्माले नेपालमा हाल फैलिएको नयाँ भेरियन्टसहितको कोरोना र यसले पारेको प्रभावका विषयमा आफ्नो प्रस्तुति दिनुभयो । मुख्यतयाः सबैले आफ्नो मनोबललाई उच्च राख्नुपर्ने र संक्रमण देखिएमा चिकित्सकको सम्पर्कमा रहिरहन सुझाउँदै अनावश्यकरुपमा बाहिर ननिस्कन र सुरक्षित साथ घरभित्रै बस्न अनुरोध गर्नुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले कोरोनाले प्रभावित मुलुकभरिका नागरिकहरुमा कोभिडसम्बन्धी उत्प्रेरक सुझाव र सन्देश दिने उद्देश्यले आयोजित भर्चुअल प्रवचन कार्यक्रममा ६०७ जनाको प्रतिनिधिमूलक सहभागिताले अहिलेको महामारीबाट प्रभावित सबै नागरिकलाई अपेक्षित लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष अधिकारीका अनुसार सोमबार हुने ‘वृहत् राष्ट्रिय प्रवचन’ कार्यक्रममा अत्यन्तै महत्वपूर्ण भाग रहेको छ । जसमा उत्प्रेरक राजन सिंखडाले कोभिड–१९ र मनोपरामर्श, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले एसईई, कक्षा ११ र १२ को परीक्षा तथा मूल्याङ्कन र संगठनका उपाध्यक्ष ईन्दराज भट्टराईले व्यक्तिको स्व.पहिचान र सामाजिक जीवनसम्बन्धी प्रवचन दिनुहुनेछ ।

 

प्रतिकृया दिनुहोस्