

५ जेठ २०७८, मंगलबार
नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले कोभिड–१९ बाट जनताको जीवन रक्षा गर्नको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ ।
कर्णाली प्रदेशअन्तरगत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै ईन्चार्ज शर्माले स्वास्थ्यकर्मीसहितको स्वयमसेवक टोली बनाएर वडा वडामा परिचालन गर्न दिर्नेशन दिनुभयो। उक्त टिमलाई टोल टोल पुगेर सङ्क्रमितहरुको उपचार गर्ने, उनीहरुको मनोबल बढाउने र जनचेतना फैलाउने कार्यमा अहोरात्र खटाउन जिल्ला नेताहरुलाई निर्देशन उहाँले निर्देशन दिनुभयो।
पूर्व गृह मन्त्रीसमेत रहेका नेता शर्माले भन्नुभयो, “जनताको जीवन रक्षा नै यतिबेलाको मुख्य काम हो, अरु सबै कुरा थाती राखेर कोभिड–१९ विरुद्ध पार्टीको शक्ति लगाउनुस् । प्रदेशको नयाँ बजेट कोभिड–१९ बाट जनतालाई जोगाउने खालका योजनामा केन्द्रित गर्न म प्रदेश सरकारलाई आग्रह गर्दछु ।
त्यसैबीच उहाँले हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघअन्तरगत राख्ने तयारीका साथ गरिएको निर्णय गलत भएको बताउनुभयो । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भएपनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उहाँको धारणा थियो ।
प्रदेश संयोजक मायाप्रसाद शर्माले सहजीकरण गरेको भर्चुअल बैठकमा रुकुमपश्चिमका अध्यक्ष एवं प्रदेश अर्थमन्त्री गोपाल शर्मा, जाजरकोट अध्यक्ष ढकवीर राना, जुम्ला अध्यक्ष वीरबहादुर कुँवर, कालिकोट अध्यक्ष धनजित शाही, मुगुका अध्यक्ष सुकबीर बुढा र हुम्ला अध्यक्ष लालकेश जैसीले जिल्लाको परिस्थिति बारे रिपोर्टिङ्ग गर्नुभएको थियो । यस्तै सुर्खेतका संयोजक कृष्ण जिसी, सल्यान संयोजक कर्णबहादुर बुढाथोकी, दैलेख संयोजक प्रेम कटुवाल र डोल्पा जिल्ला संयोजक मालबहादुर रोकायाले विभिन्न सुझावसहितको रिपोर्ट पेश गर्नुभएको थियो ।