OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ४, २०७८सुर्खेत
५५८ पटक

 ४ जेठ २०७८, मंगलबार

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा चाहिने आवश्यक सामग्री आफैले किन्ने भएको छ । प्रदेश अस्पतालले सोमबार एक सूचना जारी गर्दै मृतकका आफन्तलाई सहज गराउन सो निर्णय गरेको जनाएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो ।

शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट व्यहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछि अब उप्रान्त प्रदेश अस्पताल आफैंले मट्टितेल, कैंची, डोरी, प्लाष्टिकलगायतका आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय भएको अस्पताल निर्देशक डा.डम्बर खड्काले जानकारी दिनुभयो ।

निर्देशक खड्काले भन्नुभयो, “उपचारको क्रममा कोरोना संक्रमणको कारण आफ्नो परिवारको सदस्यको मृत्युले आफन्तहरु शोकाकुल हुन्छन् । त्यही बीचमा शव व्यवस्थापनको सामग्री किन्न लगाउँदा झन् पीडा थपिएको महसुस गर्र्यौं । शोक र निषेधाज्ञाको अवधिमा झन् दुःख दिने काम भएकोले अस्पताल प्रशासनले आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य गरिदिएको छ ।”

आफ्ना प्रियजनको मृत्युले दुःखमा रहेका परिवार तथा आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु त्यत्तिकै चूनौतिपूर्ण भएकोले अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने सूचना जारी गरेको छ । अब कोरोना संक्रमणबाट आफन्त गुमाएर शोकमा डुबेका र आर्थिक अभाव भएका परिवारलाई राहत मिल्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस्