

२ जेठ २०७८, आईतबार
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।
प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीको नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन कार्य विभाजन गर्नुभएको छ । सत्तारुढ दल नेपाली काँग्रेसलाई दिने भनिएको सामाजिक विकास मन्त्रालय र पछि थपिएको जलस्रोत तथा उर्जा विकास मन्त्रालय भने मुख्यमन्त्री शाही आफैले सम्हाल्नु भएको छ ।
कार्य विभाजन अनुसार नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रालय र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिईएको छ ।
त्यसैगरी, कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीू र मुख्यमन्त्री शाही बीच भेटघाट भयो । भेटमा मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई प्रदेश सरकारले कोरोना महामारीको रोकथाम र नियन्त्रणको लागि चालेका थप कदमको बारेमा जानकारी गराउनुभयो ।
प्रदेश प्रमुख कलौनीले जनताको जीवनरक्षाको कामलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गर्न र अपुग अक्सिजनको तत्काल व्यवस्था गर्न सुझाव दिनुभयो । साथै कर्णाली प्रदेश अस्पतालको वर्तमान क्षमता र अवस्थाका बारेमा छलफल भएको थियो । मुख्यमन्त्री प्रदेश अस्पतालमा ’डेडीकेटेड कोरोना उपचार संयन्त्र’ को व्यवस्था गरी कर्णाली प्रदेशलाई पर्याप्त हुनेगरी अक्सिजन उत्पादनको काममा प्रदेश सरकार लागिसकेको जानकारीसमेत गराउनुभयो ।