OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २, २०७८सुर्खेत
४७९ पटक

२ जेठ २०७८, आईतबार

कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले अक्सिन अभाव हुन नदिन प्रदेश सरकरलाई निर्देशन दिएको छ ।

प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीको अध्यक्षतामा शनिबार बसेको बैठकले तत्काल प्रदेश अस्पतालमा एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको हो ।

प्रदेश अस्पताल सुर्खेतले बैशाख ३१ गते कोभिड–१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीहरुलाई अक्सिजन अभाव कै कारण भर्ना लिन नसकिने भनि गरेको सूचनाबाट ध्यानाकर्षण भई समितिको तत्काल बैठक बसेर अक्सिजन अभाव पूर्ति गर्न सरकारलाई निर्देशन दिईएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

“हामीले कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायतको व्यवस्थापन गर्नसमेत निर्देशन दिएका छौं,” उहाँले भन्नुभयो, “विशेषगरी प्रदेश अस्पताल सुर्खेतमा दैनिक एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्टको तत्काल स्थापनाको व्यवस्था गर्न सरकारलाई निर्देशन गरेका छौं ।” उहाँले कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर लाग्न सरकारलाई निर्देशन दिईएको अवगत गराउनुभयो ।

यता सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले कर्णालीका नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र सबै अस्पतालहरुमा नियमित विद्युत आपूर्तिका निम्ति तत्काल पहल गर्न सरकारलाई सुझाएको जनाउँदै समितिको बैठकबाट प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीव्रता दिने निर्णय गरिएको बताउनुभयो ।

तीनै तहका सरकारले कोभिड–१९ को संक्रमणबाट जोखिन आम जनसमुदायमा दिएका निर्देशनहरू पालना गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन तथा छिमेकी देश, अन्य मुलुकलगायत गैर सरकारी संघसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोरोनासँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा साहयता गर्न बैठकले अपिल गर्ने निर्णय गरेको सचिव पौडेलले जनाउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन प्लान्टबाट बेडमै अक्सिजन दिने व्यवस्था गरिएपनि कोरोना संक्रमितको बढ्दो चापले अभाव पूर्ति हुन सकेको छैन । सो अभाव पूर्तिका लागि दैनिक सयौं सिलिण्डर आयात गर्नुपर्ने भएकोले प्लान्टको क्षमता बढाएर अक्सिजन आपूर्ति हुने व्यवस्था मिलाउन सामाजिक विकास समितिले सरकारलाई यस्तो निर्देशन दिने निर्णय गरेको छ ।

मिति २०७८ जेठ १ गते सामाजिक विकास समितिको बैठकको निर्णयहरूः

निर्णय नं.१:- कोरोना भाइरस (कोभिड-19) को सङ्क्रमण तीब्र गतिमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण र संक्रमितहरूको प्रभावकारी उपचारको व्यवस्था गर्ने सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालयलाई निम्नलिखित निर्देशन दिने निर्णय गरियोः

१.१. प्रदेश अस्पताल, सुर्खेतको मिति २०७८ बैशाख ३१ गते प्रकाशित कोभिड-१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने भन्ने व्यहोराको सूचनाप्रति सामाजिक विकास समितिको गम्भीर ध्यानाकर्षण भएकोले प्रदेश सरकार महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्नुपर्ने ।

१.२.   कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायत प्रदेशभित्र पर्याप्त मात्रामा अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने ।

१.३.   प्रदेश अस्पताल, सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने ।

१.४.   प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने ।

१.५.   कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीको लागि मित्र राष्ट्र तथा अन्य मुलुकलगायत गैर सरकारी संघसंस्था, निजी क्षेत्रसँग प्रदेश सरकारले समन्वय गरी अगाडि बढ्नुपर्ने ।

१.६.   कोभिड-१९ सँग सम्बन्धित बिरामी र बिरामीका आफन्तहरुमा अत्यधिक डर, त्रासको वातावरण भई मानसिक समस्या समेत देखिन थालेकोले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा दिनको लागि मनोविमर्शकर्ताको व्यवस्था गरी नि:शुल्क हटलाइन सेवाको तत्काल सुरुवात गर्नुपर्ने ।

निर्णय नं.२:-

२.१.   प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीब्रता दिने ।

२.२.   संघ, प्रदेश र स्थानीय सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र संक्रमणबाट बच्नको लागि आम जनसमुदायमा दिएका निर्देशनहरु पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन तथा गैर सरकारी संघसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सघाउ पुर्‌याउन अपील गर्ने ।

2.3.  कोभिड-१९ को महामारीमा स्वत:स्फुर्तरुपमा सहयोग गरिरहनुभएका सम्पूर्णहरुमा धन्यवाद ज्ञापन गर्ने ।

निर्णय नं.३:-

३.१   प्रदेश सरकारले वादी समुदायसँग गरेको सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिवज्यूलाई समितिमा बोलाइ छलफल गर्ने ।

 

प्रतिकृया दिनुहोस्