

२८ बैशाख २०७८,मंगलबार
कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच आज प्रदेश प्रमुखको कार्यालयमा नियमित भेटघाट भएको छ ।
भेटघाटको क्रममा प्रदेश प्रमुखले हाल महामारीको रुप लिएको कोभिड–१९ नियन्त्रण र प्रतिकार्यको लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिको बारेमा चासो व्यक्त गर्नुभएको छ । त्यस अवसरमा मुख्यमन्त्रीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोभिडको महामारी फैलिन नदिनेगरी प्रयासहरु गरिरहेको बताउनुभयो ।
कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार, प्रतिकार्य तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको जानकारीसमेत मुख्यमन्त्रीले गराउनुभएको थियो । प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् रु.५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको उहाँको भनाई थियो ।
त्यस क्रममा प्रदेश प्रमुख कलौनीले कोभिड–१९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै चेकजाँचको दर बढाउन र संक्रमितहरुलाई उपचार गरी जीवन बचाउने सवालमा कुनै कसर बाँकी नराख्नेगरी संयन्त्रहरु परिचालित गर्न सुझाव दिनुभयो ।