कोरपाटी संवाददातासाउन १९, २०७६सुर्खेत

४९३ पटक

सुर्खेत, १९ साउन ः तिला गाउँपालिका ३ जुम्लाको लुम्सेरा गाउँस्थित काठेपुल बगाउँदा आवतजावत गर्न स्थानीयबासीहरुलाई समस्या भएको छ ।
तिलानदीमा शनिबार आएको बाढीले ४० वर्ष अघि बनाएको काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि अहिले वारपार बन्द भएको तिला गाउँपालिका ३ जुम्ला लुम्सेरा गाँउका स्थानीय दिपेन्द्रराज हमालले राससलाई जानकारी दिनुभयो । झोलुङ्गे पुल नबनेको अवस्थामा काठको पुल बग्दा तत्काल वारपार गर्ने विकल्पका लागि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लासँग गुहार मागिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयको नदी किनारका धानको खेत नै बाढीले पुरेको छ । सूर्य सामाजिक सेवा संघ जुम्लाले करिब रु.५० लाखको लागतमा दुई वर्षअघि शुरु गरेको झुलुङ्गे पुल तत्कालै बन्ने अवस्था नरहेकोले त्यहाँस्थित ४१ घरधुरीका स्थानीयलाई सकस परेको जनाईएको छ ।