OnlinePana

आज : २०८२ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३१, २०७६
४०० पटक

सुर्खेत, ३१ असार ः यही २९ गते मुड्केचुला गाउँपालिका १ डोल्पामा आएको बाढीबाट मृत्यु भएका परिवारका लागि राहत र बेपत्ता भएकाहरुको उद्धारमा कर्णाली सरकार केन्द्रीत भएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको बैठकले मुड्केचुला गाउँपालिकाको कालिकास्थित औल गाउँका उच्च जोखिममा रहेका २९ घरको तत्काल स्थानान्तरण गर्ने निर्णय गरेको छ । सोही दिन बाढीले बगाएका चार घर परिवार, मृतक तथा बेपत्ता परिवार र स्थानान्तरण गर्ने परिवारका लागि आजै हेलिकोप्टरबाट खाद्यान्न, कपडालगायतका राहत उद्धारका सामग्री लिएर डोल्पा जाने कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो ।
“हामीले यो प्रदेशका १० वटै जिल्लामा आईपर्ने संभावित विपद्को प्रतिकार्यका लागि सबै तयारी गरेको छौं,” उहाँले भन्नुभयो, “सडक अवरुद्ध हुन नदिन राष्ट्रिय राजमार्गका लागि डोजर, विपद् पश्चात्को उद्धारका लागि सबै क्षेत्रमा सुरक्षाकर्मी, डुबान क्षेत्रका लागि डुङ्गा, पीडितहरुका उपचारका लागि चिकित्सक र औषधि तथा खाद्यान्न तयारी अवस्थामा छन् ।” सबै जिल्लाका प्रशासन तथा जिल्ला प्रहरी कार्यालय र संघीय सरकार गृह मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाई थियो ।
समितिको बैठकले नेपाल पत्रकार महासंघ, राष्ट्रिय समाचार समिति, अकोरावको सहयोगमा यो प्रदेशका १० जिल्ला र ७९ स्थानीय तहसम्म पुग्नेगरी नागरिकलाई सन्देश, सूचना र समाचार सम्प्रेषण गरिने र प्रदेश विपद् व्यवस्थापन परिषद्ले सोमबार गरेका ११ वटा निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
कानून मन्त्रालयका निमित्त सचिव विनोदकुमार गौतमले विपद्का लागि आवश्यक सामग्रीको तयारी भईरको बताउनुभयो । उहाँले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी, च्याम्बर अफ कमर्स, उद्योग बाणिज्य संघलगायतका निकायसँग पनि प्रत्यक्ष समन्वय सहकार्यबाट अघि बढिएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्