OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राससआषाढ ३०, २०७६सुर्खेत
४९४ पटक

सुर्खेत, ३० असार ः पाँच महीनादेखि काठमाठौं मण्डिकाटारबाट सम्पर्कविहिन तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही भेटिएका छन् ।
बालक सुरेश आज काठमाडौं नयाँ बसपार्क बालाजुस्थित न्यू पर्वत फिस्टेल गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा भेटिएका हुन् । खोजतलासको क्रममा उनलाई होटलमा काम गर्दै गरेको अवस्थामा भेटाईएको महानगरीय प्रहरी वृत महाराजगञ्ज महिला तथा बालबालिका सेवा केन्द्र काठमाडौंका प्रहरी निरीक्षक अनिता महतले राससलाई जानकारी दिनुभयो ।
दुई वर्षदेखि बुढानीलकण्ठ नगरपालिका ९ मण्डिकाटार काठमाडौं निवासी बलराम विष्टको घरमा बस्दै आएका बालक सुरेश गत फागुन २३ गते हराएका थिए । उनको अवस्थालाई ज्ञात गर्न राससले यही असार १९ गते बिहीबारका दिन ‘पाँच महीनादेखि बालक सम्पर्कविहिन्’ शीर्षकमा समाचार प्रवाह गरेको थियो । समाचार पश्चात् गृह मन्त्रालयको ध्यानाकर्षण भएको थियो ।
समाचार प्राप्त हुने बित्तिकै बालक शाहीको खोजतलासका लागि महानगरीय प्रहरी वृत महाराजगञ्जसहित टेकु परिसर काठमाडौलाई प्रहरी परिचालन गर्न निर्देशन दिईसकेको गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले राससलाई जानकारी दिनुभएको थियो ।
गृह मन्त्रालयको निर्देशनपश्चात् मातहतका सुरक्षा निकायहरुले खोजतलास कार्य व्यापक बनाएका थिए । समाचार प्रवाह भएको ११ दिनपछि प्रहरीले उनलाई होटेल मालिकले बालश्रममा लगाएको अवस्थामा भेटाई त्यहाँबाट उद्धार गरेर आज महाराजगञ्जस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा सुरक्षित राखिएको जनाएको छ ।
रासससँग कुरा गर्दै प्रहरी निरीक्षक महतले भेटिएका बालक सुरेश शाहीका आफन्तलाई आजै जानकारी दिएर चाँडो सम्पर्कमा आउन अनुरोध गरिएको बताउनुभयो । पाँच महीनादेखि उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नपाएका सुरेशका आमा राज्यलक्ष्मी र बुबा गोरबहादुर शाहीले छोरा भेटाएको खबर पाउँदा खुशीको सीमा नरहेको राससलाई बताउनुभयो ।

प्रतिकृया दिनुहोस्