OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ३०, २०७७सुर्खेत
४९३ पटक

 ३० मंसिर २०७७ बुधबार

भेरीगंगा नगरपालिका ५ सुर्खेतको गेरुवानी गाउँ सुगम हुँदापनि दुर्गमझै परिचय दिईरहेको छ । बबई नदीको किनारमा रहेको उक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौ समय लगाएर छिन्चु कालीदमार नजिक पुग्नुपर्दछ । त्यहाँ पुग्न उनीहरुले एउटा पहाड नाघ्नु पर्दछ ।

आउँदा जाँदा नभेटिने तर कामले जाउँ भनेर मात्र पुग्न सकिने सल्यान जिल्लाको कालीमाटी सीमानासँग जोडिएको गेरुवानी गाउँमा पहिलो पटक सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसी घरमै पुगेपछि त्यहाँका किसान खुशीले दंग भएका थिए । मन्त्रीसँग उनीहरुले मौलिक भेटघाट गरेर आफ्ना कुरा भरपुररुपमा राखे ।

मन्त्रीसँग किसानहरुले खुलेरै आफ्ना समस्या तथा गुनासा राखे । खासगरी नजिकको स्थानीय सरकार नगरपालिका, वडापालिकाबाट अपेक्षित सहयोग नपाएको उनीहरुको गुनासो थियो । कुखुरापालक किसान लिलाराम ओलीले कोभिड–१९ को अवधिमा ठूलो क्षति व्यहोर्नु परेको पीडा पोख्नुभयो ।

“केही गरौं भनेर सहकारी, सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर रु.५० लाखको लागतमा लिला कृषि एण्ड पोल्ट्री फार्म निर्माण गरी चार हजार २०० लेस जातका कुखुरापालन व्यवसाय सञ्चालन गरे,” ओलीले भन्नुभयो, “रानीखेत रोग लागेर चैत महिनामै सबै कुखुरा मरे । रु.३३ लाख बरारबको क्षति हुँदा पनि पनि कुनै सरकारले राहत सहयोग गरेनन् । सगरमाथा बीमा कम्पनीले भने रु.सात लाख बीमा रकम भुक्तानी दिएको थियो ।”

उहाँका अनुसार आएको रकम ब्याज तिर्नमै ठिक भएको छ । यसबाट केही गरौं भन्ने उर्जा घटेको र निराशा जागेको उहाँले बताउनुभयो । आपतविपद्मा सरकार साथमा नहुँदा किसानहरुको जीवनमा बज्रपात हुने गरेको ओलीको भनाई थियो । त्यस्तै, किसान बलबहादुर नगालले वर्षेनी बबईमा बाढी आउँदा आफ्ना खेतबारीहरु बगरमा परिणत हुने गरेको दुखेसो पोख्नुभयो ।

नगालले बर्सेनि आइराख्ने बाढीले क्षति पुर्याउने समस्या समधाना हनु नसकेको भन्दै स्थानीय तथा प्रदेश सरकारलाई तटबन्धका जाली (ग्याबिन) सहयोगका लागि अनुरोध गर्नुभयो । त्यस्तै अर्का किसान देउराम ओलीले खानेपानी, सिचाईंको पनि त्यत्तिकै समस्या रहेको जनाउनुभयो । नागरिकका समस्यालाई नजिकबाट नियालेर सरकारले असल अभिभावकको काम गर्नुपर्ने उहाँको जिकिर थियो ।

कृषिमन्त्री केसीले कोरोना भाइरसको संक्रमण र बन्दाबन्दीको समयमा कुखुरा क्षति भएको जानकारी नभएको र तत्काल राहत दिन नसकेपनि सहयोगको क्षेत्र खोजेर केही कार्यक्रम दिने विश्वास किसानलाई दिलाउनुभयो । “गेरुवानीमा जंगल क्षेत्र बढी भएकोले बाख्रापालन बढी संभावना छ,” मन्त्री केसीले भन्नुभयो, “कृषि सहकारी संस्था गठन गरेर अघि बढ्नुस, सरकार सहकारीमार्फत सहयोग गर्न तयार छ ।”

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्रले किसानहरुका समस्या बुझ्न गाउँमै आईपुगेको बताउनुभयो । यहाँका समस्या र आवश्यकताहरु प्रत्यक्षरुपमा बुझिएको भन्दै सचिव मिश्रले आगामी वर्ष मन्त्रालयबाट सक्दो सहयोग गरिने विश्वास दिनुभयो ।

त्यसैगरी, मन्त्री केसीले गेरुवानीको सरस्वती आधारभूत विद्यालयको समेत अनुगमन गर्नुभएको छ । उक्त विद्यालयमा शैक्षिक, भौतिक अवस्थाको अनुगमन गर्नुभएका मन्त्रीलाई उक्त विद्यालयका प्रधानाध्यापक कोचबहादुर खड्काले खानेपानी र विद्यालय भवनको टड्कारो आवश्यकता भएको देखाउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्