OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २९, २०७७सुर्खेत
१४२१ पटक

२९ मंसिर २०७७, सोमबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीको गरिबीको पहिचान बदल्न सहकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

भेरीगंगा नगरपालिका १२ सुर्खेतस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित उद्घाटन् तथा संस्था हस्तान्तरण कार्यक्रममा सो कुरा बताउनुभएको हो । रु.दुई करोड ९७ लाख २५ हजार ३१० लागतमा निर्माण भई सञ्चालनमा आएको २०० मेट्रिक टन क्षमताको कर्णालीको पहिलो शीतगृहको उद्घाटन गर्दै मन्त्री केसीले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी मुलुक समृद्धिको बलियो आधार भएको बताउनुभयो ।

“आर्थिक समृद्धिको नेतृत्व अब सहकारीले लिनुपर्दछ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले रु.सात करोड नीजि क्षेत्रलाई दिँदा काम गर्न नसकेर फिर्ता भयो तर सहकारीहरु यस कार्यमा सफल भएका छन् ।” सहकारीहरुको दिगो विकास गर्ने कुरामा प्रदेश सरकार तयार रहेको जिकिर गर्दै मन्त्री केसीले विकास निर्माणको सवालमा कोही कसैले राजनीति गर्न नहुनेमा जोड दिनुभयो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले समाजवाद निर्माणको आधार सहकारी रहेको र मुलुकको नेतृत्व गर्न महिला सक्षम रहेको उदाहरण महिलाको नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले देखाएको भन्दै कृषि र श्रमलाई सम्मान गर्ने संस्कृति स्थापित गर्न सबै क्षेत्रको साझा लगाव हुनुपर्ने बताउनुभयो ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले संघीयताले तल्लो तहलाई बलियो बनाएको र जसको लाभ महिलालगायतको लक्षित वर्गले उठाएको दावी गर्नुभयो । “महिलाहरुको जिम्मेवारीमा भएका विकासका थुप्रै कामहरु उदाहरणीय छन्,” प्रमुख सचेतक नेपालीले भन्नुभयो, “मुलुकमा आएको राजनीतिक परिवर्तन सँगसँगै अब आर्थिक समृद्धिको बाटोलाई फराकिलो बनाएर लैजानुपर्दछ ।”

कर्णाली प्रदेशसभा सदस्यद्वय पद्मा खड्का र अमृता शाहीले किसानको उत्पादनको बजारीकरणमा आएको समस्यालाई समाधान गर्नुपर्ने र उनीहरुले उचित मूल्य पाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभयो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र मिश्रले समय क्रमसँगै कृषि परम्परा नरहेर यो व्यापारमा परिणत भएको बताउनुभयो ।

सहकारी निर्माण गरेको शीत भण्डार सफलताको कथा बनेको बताउँदै सचिव मिश्रले सम्पति जोड्ने भन्दा पनि त्यसको परिचालन सबैभन्दा ठूलो कुरा भएको जनाउनुभयो । उक्त सहकारीका अध्यक्ष ज्ञानु भुसालले विसं.२०६७ सालमा दर्ता भएको संस्थाले कर्णालीमा पहिलो पटक एक महिलाको नेतृत्वमा २०० मेट्रिक टन क्षमताको शीतगृह निर्माण चानचुने कुरा नभएको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष भुसालले भन्नुभयो, “हामीले निर्माण गरेको शीत गृहमा संघ, प्रदेश र स्थानीय सरकार सबैको उत्तिकै भूमिका रहेको छ । यतिबेला नै ६६३ बोरा अदुवा शीत गृहमा राखिएको छ । अब कर्णालीका किसानहरुको उत्पादन कुहिएर खेर जाने छैन ।

उद्घाटन कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्द, गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक, उद्योग बाणिज्य संघ छिन्चुका अध्यक्ष सोमराज ढकाललगायत कृषि योग्य भूमि जोगाएर मात्र उत्पादन बढ्ने र त्यसले शीत गृह भरिने बताउनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्