OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २८, २०७७सुर्खेत
८२५ पटक

२८ मंसिर २०७७, आईतबार

नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै यही मंसिर पहिलो सातादेखि कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै भने शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि अहिले पुनः बन्द हुन थालेका छन् ।

कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा आज एकैदिन १७ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयहरु बन्द हुने अवस्था आएका हुन् । कोरोनाको पीसीआर रिपोर्ट अनुसार आज एक विद्यालयका ११ सहित सुर्खेतमा जिल्लामा १७ जना शिक्षकमा कोरोना संक्रमण देखिँदा विद्यालय बन्द हुन गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

प्रमुख वाग्लेका अनुसार आज प्राप्त रिपोर्टमा सुर्खेत जिल्लाका १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ । उहाँहरु घरमै आइसोलेशनमा बस्नु भएको छ र सबैको अवस्था सामान्य नै छ । चार जना विद्यार्थीमा समेत कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि भएकाहरुमा सुर्खेत पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय पलैटेका ११ जना शिक्षक रहेको उक्त नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताउनुभयो । त्यस्तै, सोही नगरपालिकाको विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको जनाईएको छ ।
दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिपोर्ट पोजेटिभ आएको उहाँले जनाउनुभयो । उहाँका अनुसार कोरोना संक्रमण देखिएका शिक्षकहरुको लक्षण कोरोनासँग मिलेको देखिएपछि उनीहरुको पीसीआर परिक्षण गरिएको थियो ।

त्यसैगरी, गुर्भाकोट नगरपालिका सुर्खेतको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको नगरपालिकाका नगर शिक्षा प्रमुख पदम विकले जनाउनुभयो । शिक्षकमा कोरोना देखिएकोले विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख विकले बताउनुभयो ।

पञ्चपुरी नगरपालिकाले शिक्षकहरुमा कोरोना संक्रमण नेगेटिभ नआउञ्जेलसम्मका लागि एकसाता बन्द भएको बताएको छ । संक्रमित शिक्षकहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट आएपछि विद्यालय खोल्ने वा नखोल्नेपछि निर्णय गरिने कोरोना प्रभावित नगरपालिकाहरुले जानकारी दिएका छन् ।

एक महिना अघि हुम्ला नाम्खा र ताजाकोट गाउँपालिकाका विद्यालयमा शिक्षक विद्यार्थीमा कोरोना संक्रमण देखिँदा अहिले हुम्लाका विद्यालयहरु बन्द भएको र माघ १५ पछि मात्र खोल्ने शिक्षा विकास तथा समन्वय एकाई हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले जानकारी दिनुभएको छ ।

यता सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आज १७ शिक्षक, पाँच स्वास्थ्यकर्मी, चार विद्यार्थीसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । ४४ थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या सात हजार १०६ जना पुगेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाउनुभयो ।

उहाँका अनुसार आजै २५ जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या कर्णालीमा छ हजार ६३२ पुगेको ३१३ जना संक्रमितहरु आइसोलेसनमा रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य शिक्षा शाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्