OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २२, २०७७सुर्खेत
४३८ पटक

२२ मंसिर २०७७, सोमबार

कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । साईनिङ अस्पताल, आईएनएफ नेपाल सुर्खेतले आज पत्रकार सम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेका तथ्याङ्क सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७६÷०७७ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ४९ जना कुष्ठरोगी भेटिएको अस्पतालका व्यवस्थापक मंगल थारुले बताउनुभयो । “नयाँ भेटिएका कुष्ठरोगीहरुमा सबैभन्दा धेरै सुर्खेतका १४ जना रहेका छन्,” व्यवस्थापक थारुले भन्नुभयो, “जाजरकोट १३, दैलेख नौ, कालिकोट छ, सल्यान दुई, जुम्ला एक र अन्य जिल्लाका चार जना छन् ।”

उहाँका अनुसार नयाँ कुष्ठरोगका बिरामीहरु मध्ये १५–५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष नाघेका छ र एकदेखि १४ वर्ष उमेर समूहका चार जना छन् र उनीहरु अधिकांशको शरीरमा घाउ भएको पाईएको छ । यो समस्या दुर्गममा अँझ बढी भेटिन सक्ने भन्दै व्यवस्थापक थारुले कुष्ठरोगको निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन ती स्थानहरुमा घुम्ती शिविर जस्ता कार्यक्रमको विस्तार आवश्यक बताउनुभएको थियो । कोरोना माहामारीका कारण यस वर्ष रोग चेकजाँच गर्ने बिरामीको संख्या ह्वात्तै घटेको उहाँको भनाई थियो ।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालिकोटसहित कुष्ठरोगका बिरामीको संख्याको आधारमा नेपालका १६ वटा जिल्ला जोखिममा रहेको उहाँले जनाउनुभयो । यो रोगको लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराउन सकेमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरुपले निको भएर अपाङ्गता हुनबाट बच्न सकिने अस्पतालले सुझाव दिएको छ ।

प्रतिकृया दिनुहोस्