OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २१, २०७७काठमाडौं
४५२ पटक

२१ मंसिर, काठमाडौं । केन्द्रीय मुख्यालय धुम्बाराहीमा कडा सुरक्षा व्यवस्थाका बीच आइतबारदेखि सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूलतः पाँच प्रष्टोक्ति दिएका छन् ।

बैठकमा अनुपस्थित रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा प्रस्तुत गरेपछि प्रचण्डले आफ्ना कुरा राखेका थिए । प्रधानमन्त्रीको दुई पन्ने पत्रमा आफू बैठकमा आउन असमर्थ रहेको बताइएको थियो ।

भदौ २६ यता भएका घटनाक्रमबारे जानकारी दिँदै प्रचण्डले अहिलेको जटिलता ओलीले पार्टी निर्णय पालना नगर्नु रहेको तर्क गरे । ‘भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय पालना नभएकैले परिस्थिति बिग्रियो । मूल समस्या त्यही भयो’, प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।

भदौमा कार्यदलले रिपोर्ट तयार पारिरहँदा नै पार्टीमा छलफलै नगरी एक्लौटी नियुक्तिहरु सुरु भएको प्रचण्डको भनाइ थियो । तर, त्यसलाई ठूलो विषय आफूले नमाने पनि भदौ २६ को स्थायी कमिटी बैठकपछि पनि पार्टी निर्णय उल्लङ्घन हुन थालेको प्रचण्डले बैठकमा बताए । आफूखुशी मन्त्रिपरिषद् पुनर्गठनदेखि नियुक्तिहरु भइरहेपछि बैठक राख्न आग्रह गरेको उनले बताए ।

तर, बैठक बसौं भन्ने प्रस्ताव नै अर्को समस्याका रुपमा देखा गरेको प्रचण्डको भनाइ थियो । कार्यकारी अध्यक्षको हैसियतले बैठक राख्न पटक–पटक आग्रह गर्दा पनि ओली तयार नभएको प्रचण्डले बैठकमा बताए । ‘यसपछि मात्रै पाँचजना सचिवालयका नेताहरुको सहमतिमा अध्यक्षका तर्फबाट मैले लिखित पत्र बुझाउनुपरेको हो’, प्रचण्डले स्थायी कमिटी सदस्यहरुलाई प्रष्टोक्ति दिए ।

कात्तिक २३ मा बैठक माग गर्दै ओलीलाई पत्र बुझाए पनि उनले बैठक नराखेर उल्टै दश पेजको जवाफ पठाएको प्रचण्डले बताए । यसरी सचिवालयका नेताहरुकै आग्रह अटेर गरिएपछि परिस्थिति बिग्रँदै गएको उनले बताए ।

त्यसपछि फेरि तेस्रो समस्या सुरु भएको प्रचण्डको बुझाइ छ । ‘जहाँसम्म एकअर्कालाई लेखेका पत्रहरु सार्वजनिक हुन थाले, त्यसपछि झनै समस्या भयो’, प्रचण्डले आइतबारको बैठकमा भने । र, पत्रहरु सार्वजनिक गर्ने थालनी पनि केपी ओलीकै तर्फबाट भएको प्रचण्डले स्थायी कमिटीको बैठकमा जानकारी दिए ।

‘केपी ओलीले लेखेको १० पृष्ठको पत्र सार्वजनिक गरिएको मिनेटसम्म तोकेर प्रचण्ड कमरेडले भन्नुभएको थियो’, एक स्थायी कमिटी सदस्य भन्छन्, ‘बैठक बोलाउनुको साटो उल्टै पत्र लेख्ने र सार्वजनिक गर्ने काम पनि ओलीबाटै भएकाले प्रचण्डले आफ्नो यसमा आफ्नो गल्ती नभएको बैठकमा बताउनुभयो ।’

‘उहाँले पहिले पत्र सार्वजनिक गरेपछि हामीले पनि गर्नुपर्‍यो,’ बैठकमा प्रचण्डले भने, ‘यदि उहाँले त्यसो नगर्नु भएको भए यस्तो अवस्था नै आउने थिएन । किनभने, हामीले बैठक माग गर्दै लेखेको दुई पेजको पत्र त सार्वजनिक गरेका थिएनौं ।’

प्रचण्डको चौथो प्रष्टोक्ति स्थायी कमिटीबाट सबै पत्रहरु समेटेर साझा दस्तावेज बनाउन सकिन्छ भन्ने थियो । ओलीले स्थायी कमिटीमा पठाइएको पत्रमा समेत ‘फौजदारी’ आरोप लगाइएको प्रचण्डको पत्रमाथि छलफल हुन नसक्ने र त्यस्तो बैठकमा सहभागी हुन असमर्थ रहने अडान छ । प्रचण्डले भने दुवै प्रस्तावमाथि स्थायी कमिटीको बैठकले छलफल गरेर साझा प्रस्ताव बनाउन सकिने बताएका छन् ।

‘मैले मेरो ठीक र उहाँको बेठीक भनेको छैन । दुवैजनाको पत्रबारे छलफल गरौं । दुवैलाई हटाएर अर्को बनाउने भए पनि बनाऔं, जे गर्दा सहमति हुन्छ गरौं’ आइतबारको बैठकमा प्रचण्डले भने, ‘तर, उहाँ मेरो ठीक र अर्को पत्र बेठीक भन्नुहुन्छ ।’

प्रचण्डको आइतबारको सम्बोधनमा पार्टी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नेबारे पनि समेटिएको थियो । ‘देशमा आएको परिवर्तन जोगाउने सन्दर्भमा हाम्रा पदहरु जोगिँदैनन् । त्यसो भएकाले त्याग गर्न तयार हुनुपर्छ । म पनि तयार छु भन्नुभयो’, बैठक स्रोतले भन्यो ।

पार्टी एकता जोगाउन र राजनीतिक उपलब्धी जोगाउन जोकोही पनि त्याग गर्न तयार हुनुपर्ने प्रचण्डको भनाइ थियो ।

यति भनिसकेपछि प्रचण्डले स्थायी कमिटीको अर्को बैठक कहिले बस्ने भन्नेबारे एजेण्डा ल्याएका थिए । महासचिव विष्णुप्रसाद पौडेलले स्थायी कमिटी बैठक एक साता रोकौं भन्ने प्रस्ताव राखेको जानकारी प्रचण्डले बैठकलाई गराए । बैठकका सहभागीहरुले सहमति जनाएपछि स्थायी कमिटीको बैठक मंसिर २८ गते बस्ने सहमति जुट्यो । तर, केन्द्रीय कमिटीको बैठक सार्नेबारेमा भने केहीबेर वादविवाद भयो ।

मंसिर ३ को सचिवालय बैठकले मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर, मंसिर १८ मै बस्ने भनिएको स्थायी कमिटी बैठक सरेपछि केन्द्रीय कमिटी बैठकको मिति पनि प्रभावित भएको छ ।

आइतबार महासचिव पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले केन्द्रीय कमिटी बैठकको मिति तोक्न नहुने अडान लिएका थिए । तर, वेदुराम भुसालसहितका नेताहरुले आपत्ति जनाए । बैठकको मिति तोकेर जानुपर्छ भन्ने पक्षमा धेरै नेताहरुले अडान लिएपछि अन्ततः पुस १ का लागि केन्द्रीय कमिटी बैठक बोलाउँदै आइतबारको स्थायी कमिटी बैठक सकियो ।

आइतबारको बैठकमा ईश्वर पोखरेलले ओलीको पत्र प्रस्तुत गरेपछि प्रचण्डको लामो सम्बोधन गरे । तर, अन्य नेताहरुले भने आफ्ना कुरा राखेनन् ।

प्रतिकृया दिनुहोस्