OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नन्द बहादुर रोकायामंसिर २०, २०७५मुगु
५३४ पटक

गमगढी । मुगु खत्याड गाउँपालिका वडा ३ की सर्मिला शाही अहिले उमेरले १९ वर्ष पुगिन् । १३ वर्षको उमेरमा नै उनी छुई भएकी थिईन । पहिलो पटक छुई हुँदा उनलाई मरौँ कि बाँचौ जस्तै भएको थियो । कारण एउटै थियो, छुई भएमा अध्याँरो गोठमा बसाल्छन् । खाना राम्रो र समयमै दिँदैनन् भन्ने पीर । सर्मिलाले आफु छुई भएको कुरा शुरुमा आमालार्ई सुनाईन । उनको सोच थियो आफ्ना कुरा आमासँग राख्दा केही सजिलो हुन्छ कि भन्ने । तर आमाले छुई भएको कुरा सुनाउन नपाउँदै उल्टै देविदेवता रिसाउने जस्ता कुरा गरेर उनलाई डर देखाइन् ।

उनी भन्छिन्, ‘आमाले उल्टै सात दिनसम्म गोठबाट आउन दिइनन् । मलाई थाहा थियो, छुई हुनु एउटा प्राकृतिक नियम हो । छुई भएमा सरसफाई गर्नुपर्छ, पोषिला खानेकुरा खानुपर्छ, तर मैले त्यो पाइन् ।’ हाम्रो समाजले छुई हुनुलाई अपराध सरह लिने गरेको उनको अनुभव छ । त्यसैले महिला छुई भएका बेला बाध्य भएर गोठमा बस्ने गरेको उनी बताउँछिन् ।

सोरुगाउँपालिका वडा नं। ८ कच्चे गाउँकी गोरी रावल अहिले २१ वर्ष पुगिन् । उनी भन्छिन्, ‘ म पनि पहिलो पटक छाउ हुँदा अध्याँरो गोठमै बसे । साह्रै डर लाग्थ्यो । कसलाई भनौ, के गरौँ जस्तो हुन्थ्यो । ’ छुई भएका बेला महिलालाई गरिने व्यवहार परिवर्तन नभएसम्म छाउगोठ मुक्त वडा घोषणा गरेको औचित्य नहुने उनी बताउँछिन् ।

सोरुगाउँपालिका वडा नं ८ लाई छाउगोठ मुक्त घोषण भइसकेको छ । यो सकारात्मक पक्ष हो । तर व्यक्तिको व्यवहारमा परिवर्तन हुन नसके छाउगोठमुक्त घोषणा गरेर मात्र नहुने उनीहरु बताउँछन् । गोरी भन्छिन्, ‘वडालाई छाउगोठ मुक्त घोषण गरेपनि भोलीका दिनमा व्यवहारमा परिवर्तन हुनुपर्छ । तब मात्रै यसको अर्थ हुन्छ । ’

मुगु जिल्लाको सन्दर्भमा धेरै वडा छाउगोठ मुक्त वडा घोषणा भएका छन् । तर ति वडाको अवस्था पुरानै छ । केहिले छाउगोठ मुक्त वडा घोषण गरेर आफ्नो सोचसँगै व्यवहारमा परिवर्तन गरेको भएपनि धामिझाँक्रीहरु र पुरातनवादी सोच भएकाको घरमा अहिले पनि अवस्था उस्तै छ । मुगु जिल्लामा युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सनवर्क नेपालको साझेदारी र जिल्लाका स्थानीय निकायको अगुवाइमा धमाधम छाउगोठ मुक्त अभियान चलिरहेको छ ।

गएको आइतबार सोरु गाउँपालिकाकै पहिलो छाउगोठ मुक्त वडाका रुपमा ८ नम्बर वडालाई छाउगोठ मुक्त घोषणा गरियो । मुगुमा छाउपडी न्यूनिकरणमा विगत लामो समयदेखि काम गर्दै आएको एक्सनवर्क नेपाल मुगु र सोरुगाउँपालिकाको अगुवाईमा छाउगोठ मुक्त वडा घोषणा गरिएको हो ।

यस अघि एक्सनवर्क नेपालकै साझेदारीमा स्थानीय सरकारको सक्रियतामा छायाँनाथ रारा नगरपालिकाको ८, ९, १०, त्यस्तै खत्याड गाउँपालिकाको १ देखि ७ सम्मका वडालाई छाउगोठ मुक्त घोषण गरिएको एक्सनवर्क नेपाल मुगुका संयोजक धिरेन्द्र बहादुर शाही बताउँछन् ।

प्रतिकृया दिनुहोस्