OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १६, २०७७
४२३ पटक

८६ थपिएसँगै संक्रमितको संख्या तीन हजार ७२९ पुग्यो

१६ असोज २०७७, शुक्रबार

पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडकलगायत जताततै मान्छेको भिड पनि त्यत्तिकै बढेको देखिन्छ ।

शुरु शुरुमा जस्तो अहिले सावधानी कोही कसैले अपनाएको देखिदैन । जसको कारण आजको दिनमा मात्रै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भएको परीक्षणमा नौ व्यक्ति गरी ८६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“हिँजो पनि कर्णालीमा १०५ जनामा कोरोना संक्रमण देखिएको थियो,” स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भन्नुभयो, “आज पुनः ८६ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन हजार ७२९ पुगेको छ ।” संक्रमितहरुमा सुर्खेतका ५३, जुम्लाका सात, दैलेखका छ, कालीकोटका चार, जाजरकोटका दुई र अन्य प्रदेशका १४ व्यक्ति रहेको उहाँले बताउनुभयो ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी आठ, क्वारेन्टाइनमा रहेका छ, सशस्त्र प्रहरी पाँच, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, बिरामी र शिक्षक दुई÷दुई जना व्यक्ति रहेका छन् । त्यस्तै, इन्जिनियर, थुनुवा, अटोचालक, कृषकहरुमा पनि संक्रमण देखिएको छ ।

हाल कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या ४९२ रहेको जनाउँदै उहाँले आज तीन जना डिस्चार्ज भएका छन् । कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको संख्या तीन हजार ४५ पुगेको छ । कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका आवश्यक नीति, नियम, निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा कर्णालीमा संक्रमणले सबै क्षेत्र प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्