OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, भाद्र ६, २०७७जुम्ला ।
९५४ पटक

भदौ ६ गते । कर्णाली स्वायत्त प्रदेश आन्दोलनका शहीद हरिबहादुर कुँवरको सालिक निर्माण सम्पन्न भएको छ । तर राख्ने स्थान नहुदो स्मृति दिवशमा पनि सालिक ठड्याउन सकिएन । परिवर्तनका लागि गोली खाएर २०७२ साल भदौ ६ गते बलिदानी गरेका कुँवरको सम्झनामा सदरमुकाममा सालिक राख्ने निर्णय राजनैतिकदलहरुले कार्यान्वयन गर्न नसक्दा सालिक राख्न सकिएको छैन् ।

तत्कालिन समयमा उनले ज्यान बलिदान गरेको स्थान जिल्ला प्रशासन कार्यालयको पेरिफेरिमा राख्दा उचित हुने निश्कर्षमा राजनैतिक दलहरु पुगेपछि साविक घरेलु तथा साना उद्योग विकास समितिको उत्तरतिरको भागमा सालिका राख्ने निर्णय भएको थियो । तर अहिले नयाँ भवन लगाएर सालिक राख्ने स्थान समेत नभएपछि अन्यौल भएको छ । शहीद हरिबहादुर कुँवरका दाजु तथा हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले सालिक बनिसकेको छ तर परिवर्तनका लागि गोलि खाएर ज्यान दिने शहिदका लागि शालिक राख्ने जग्गा समेत नहुनु बिडम्बना रहेको बताउनुभयो । उहाँले दलहरुले गरेको निर्णय कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । सालिक निर्माणका लागि भने चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा रु १३ लाखमा सालिक निर्माण भएको छ ।

गाउँमा स्मृति भवन :
उता शहिद कुँवरको जन्म गाउँ सर्मीमा समृति भवन निर्माण भईरहेको छ । कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा बाताबरण मन्त्रालयको रु ४० लाखको सहयोगमा दुई तला भवन ल्याण्टरको काम सकिएको प्रतिष्ठानले जानकारी दिएको छ । रु एक करोड ३७ लाखको डिजाईन स्टमेट रहेको उक्त घरमा तल्लो तला सभाकक्ष, दोस्रो तला पुस्तकालय र तेस्रो तलामा कार्यालय रहनेछ । वाँकी रकम अभावमा अधुरो भएको शहिद हरिबहादुर कुँवरका दाजु राजबहादुरले जानकारी दिनुभयो ।

घाईतेहरुको पनि बेखबर :
शहीद हरिबहादुर कुँवरले ज्यान गुमाएपनि आन्दोलनमा एक दर्जन बढि घाईते भएका थिए । ति कुन र कस्तो अवस्थामा छन् थाहाँ छैन् । घाईते पदमबहादुर बुढ्थापा, छक्क काकी, पवित्रा बोहरा महतारा, राजबहादुर महत सहितका १३ जना व्यक्तिहरु घाईते भएका हरिबहादुर कुँवर स्मृति प्रतिष्ठानको तथ्यांकमा छन् । उनिहरुलाई तत्कालिन समयमा सम्वन्धित स्थानीय तहले योग्यता र कार्यक्षमताका आधारमा रोजगारी दिने र घाईतेलाई औषधि उपचार गर्न पहल गर्ने निर्णय समेत भएको थियो ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले घरेलु कार्यालयको अगाडिनै सालिक हुनुपर्नेमा कसैले कन्चुसाई गर्न नहुने बताउदै आन्दोलनले जन्माएको कर्णाली प्रदेश सहित जुम्लाका राजनैतिक दलहरु र नेतृत्वहरुले भुल्न नहुनेमा जोड दिनुभयो ।

बि.सं २०७२ साल साउन ३१ गते साविक कर्णालीका ५ जिल्ला समेटिनुपर्ने भन्दै भएको स्वायत्त कर्णाली आन्दोलनमा हरिबहादुर कुँवरलाई जिल्ला प्रशासन कार्यालय अगाडि गोली लागेर गम्भिर घाईते भई उपचारका लागि काठमाण्डौ लिई शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा भदौ ६ गते निधन भएको थियो । हरिबहादुर कुँवरलाई सरकारले सहिद समेत घोषणा गरिसकेको छ । उहाँको साहदतले अहिलेको कर्णाली प्रदेशको जन्म समेत भएको छ । एक परिवर्तनकारी योद्धा विर सहिद हरिबहादुर कुँवरलाई स्मृति दिवसको अवसरमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली सहित उहाँको बलिदानीको मर्मलाई यहाँको नागरिक, राजनैतिकदलहरु र सरकारले कहिल्यै बिर्सनु हुदैन ।

प्रतिकृया दिनुहोस्