OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहसाउन १८, २०७७जुम्ला/सुर्खेत
१४४१ पटक

१८ साउन २०७७, आईतबार

एक सातादेखिको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्गको आवतजावत सुचारु हुन सकेको छैन । निर्वाध पहिरो जाने घटनाले यात्रुहरुलाई यात्रा गर्न निकै सास्ती र जोखम छ । आवश्यकीय काम लिएर तल झरेका नागरिकहरुको बाटोमै अलपत्र अवस्थामा छन् ।

कर्णाली राजमार्गको कालीकोट सडक खण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैंसीगौडा, टिमुरे भिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौं स्थानमा पहिरो गएपछि करिब एक सातादेखि राजमार्ग अवरुद्ध भएको थियो । कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो ।

“कालेखोला, दहिखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ,” प्रहरी नायब उपरीक्षक ओलियाले भन्नुभयो, “आज पिली सडकको पहिरो हटाउने काम भईरहको छ । आजका दिनसम्म सडक खुल्छ होला ।” जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले कालीकोटको टाकुल्ला खोलादेखि जुम्लासम्मको सडक खण्ड सुचारु भएको बताउनुभयो ।

बाढी पहिरोले सडक बन्द भएपछि पाँच दिन लगाएर पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले बोलाएको समीक्षामा सहभागी हुन नसकिएको जिल्ला कृषि विकास तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुखद्वय बालकराम देवकोटा र गोविन्द महतले जनाउनुभयो ।

“मन्त्रालयले कर्णालीका १० जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुखहरुलाई यही साउन १५–१७ गतेसम्मको वार्षिक प्रगति समीक्षामा बोलाएको थियो,” कृषि विकास कार्यालयका प्रमुख देवकोटाले भन्नुभयो, “साउन १३ गते हिड्दा १७ गतेसम्म कालीकोट सडक खण्डमा आएको बाढी र पहिरोको अवरोधमा परियो ।” यता भेटेनरी तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले समीक्षा सहभागी हुने भन्दा जीवन जोगाएर बल्लतल्ल घर फर्कन सफल भईएको जनाउनुभयो ।

जिल्ला वन कार्यालय मुगु तथा जुम्लाका जिल्ला वन अधिकृतद्वय भरत बुढ्थापा र दिनेश खत्रीले जीवनमा पहिलो पटक चार दिन लगाएर कष्टकर यात्रा गर्नुपरेको दुखेसो गर्नुभयो । कर्णाली राजमार्गको स्तरवृद्धि नगरे एवं पुल निर्माणमा तदरुकता नदिएसम्म यहाँका नागरिकहरुले बर्सेनि यही समस्या भोग्नुपर्ने उहाँहरुको भनाई थियो ।

जुम्लाका उद्योगी महेन्द्र थापाले राज्यको नेतृत्व गर्नेहरुको कमजोरीका कारण कर्णालीबासी प्राकृतिक विपद्को शिकार हुनुपरेको बताउनुभयो । वैकल्पिक मार्ग निर्माण नभएसम्म यो समस्या सजिलै नटर्ने उद्योगी थापाले जनाउनुभयो ।

ट्राभल व्यवसायी भानु देवकोटाले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट मुक्त गर्न कर्णालीबासी कहिले हुने हो ? भन्ने प्रश्न गर्नुभयो । मुलुक संघीयतामा गईसकेपछि पनि कर्णालीका नागरिकहरुको दुःख टर्न नसकेको व्यवसायी देवकोटाले गुनासो गर्नुभयो ।

खाँडाचक्र नगरपालिका ६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारहरुले सडक स्तरनोत्तिमा ध्यान नदिदा स्थानीय व्यवसायी तथा यात्रुहरुले पटक पटक दुःख भोग्नुपरेको गुनासो गर्नुभयो । चार दिनसम्म सडक अवरुद्धमा पर्दा रु.७० हजारको तरकारी कुहिएर गएको उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्