OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १२, २०७७सुर्खेत
६९३ पटक

१२ साउन २०७७ सोमबार

भेरीगंगा नगरपालिका १० सुर्खेत छिन्चुस्थित झिलमिलेमा कर्णाली प्रदेश स्तरकै उच्च क्षमताको शीत भण्डार (कोल्ड स्टोर) निर्माण सम्पन्न भएको छ ।

नारी जागरण बहुउद्देश्यीय कृषक समूहले कर्णाली प्रदेशमा पहिलोपटक छिन्चुमा सबैभन्दा बढी भण्डारण क्षमता भएको शीत भण्डार निर्माण गरेको हो । उक्त कृषक समुहका अध्यक्ष ज्ञानु भुसालले दुई सय मेट्रिक टन भण्डारण क्षमता भएको शीत भण्डार निर्माण गरिएको जानकारी दिनुभयो ।

“गत आव.२०७६÷०७७ मा कृषि विकास निर्देशनालयको रु.७० लाख र समूहको रु.२९ लाख लगानी छ,” अध्यक्ष भुसालले भन्नुभयो, “आव.०७५÷०७६ मा भेरीगंगा नगरपालिकाको रु.६५ लाख, गुर्भाकोट नगरपालिकाको रु.पाँच लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु.१५ लाख गरी रु.एक करोड ५९ लाखको लागतमा शीत भण्डारको निर्माण कार्य सम्पन्न भएको छ ।”

उहाँले अगाडि भन्नुभयो, “अब किसानहरुले फलफुल तथा तरकारी ल्याएमा राख्न शुरु गर्छौं । एक पटकलाई पाचदेखि छ महिनासम्मका लागि राख्यो भने प्रति केजी चार रुपैयाँ ५० पैसा लिनेगरी कोल्ड स्टोर कार्यविधि निर्माण गरेका छौं ।” यो बनेसँगै कर्णालीका किसानहरूले आलुलगायतका अन्य तरकारी तथा फलफूलको बिउ उत्पादनका लागि कोहलपुरको कोल्डस्टोरमा लैजानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।

५० मेट्रिक टन अट्ने चार कोठा भएको भण्डार निर्माण गरिएको जनाउँदै उहाँले समुहले पहिलो, दोस्रो र तेस्रो पुस्ताको बीउ उत्पादन गरिरहेको र कोल्डस्टोर नहुँदा बचाउन गाह्रो भएको समस्या अबका दिनदेखि समाधान हुने विश्वास दिलाउनुभयो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले उक्त संरचनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

कर्णाली प्रदेशमा अनिवार्य आवश्यकताको रुपमा देखिएको बेला कोल्डस्टोर निर्माण हुनुले किसानलाई राहत पुग्ने कृषिमन्त्री कृषि बताउनुभयो । “यहाँ किसानले उत्पादन गरेको वस्तु करिब छ महिनासम्म राख्न सकिने कुराले अब उत्पादित वस्तुको खेर नजाने भएको छ,” उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्दछ ।”

कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कर्णालीमा निर्मित सबैभन्दा ठूलो र पहिलो कोल्डस्टोर निर्माणबाट सबै कृषकहरुलाई लाभ हुने प्रतिक्रिया दिनुभयो । महिलाको नेतृत्वमा अधिकतम् मेहनतका साथ किसानले उत्पादन गरेको तरकारी तथा फलफुल अब कुहिएर फाल्नुपर्ने दुख्द अवस्था नआउने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्