OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
 दाना शाहीसाउन ८, २०७७ सुर्खेत
४९९ पटक

८ साउन २०७७, बिहीबार

नेपाल सरकारले गत चैत्र ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गते राति १२ः०० बजेबाट खुला गरेपछि नागरिकहरुलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर नभएर नागरिकहरुको स्वास्थ्यमा आघात पुग्ने पनि त्यत्तिकै खतरा छ ।

मुलुका सबै ठाउँहरुमा कोरोना संक्रमण नियन्त्रण आउन नसकेपनि सबै क्षेत्र खुला भईसकेका छन् । कोरोना संक्रमण पूर्णरुपले रोकथाम तथा नियन्त्रण भएको अवस्था छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पिसिआर परीक्षणमा बुधबार कालीकोट रास्कोट नगरपालिकाका छ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख ठाँटीकाँध गाउँपालिका १६ गरी २२ जना कोरोना संक्रमित भेटिएका थिए ।
बिहीबार पनि दैलेख अस्पतालले गरेको आरटी पिसिआर परीक्षणमा २४ र प्रदेश अस्पताल सुर्खेतमा सुर्खेतका पाँच र सल्यानका एक गरी थप ३० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारी मिडिया ब्रिफिङद्वारा जानकारी दिनुभयो ।

दैलेखमा २४, सुर्खेतमा पाँच र सल्यानमा एक थपिएसँगै अहिलेसम्म कर्णालीमा संक्रमित हुनेको संख्या एक हजार ८१३ पुगेको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएका ८६ प्रतिशत संक्रमितहरु निको भएर घर फर्केपनि संक्रमण नियन्त्रणमा आउन नसकेको उहाँको भनाई छ ।

हिजो दैलेख अस्पतालले सार्वजनिक गरेको आरटी पिसिआर परीक्षणको रिपोर्ट अनुसार कोरोना संक्रमण समुदायस्तरसम्म फैलिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना सम्पर्क व्यक्ति थीरप्रसाद रेग्मीले समुदायस्तरमा कोरोना संक्रमण छ वा छैन भनी दैलेख ठाँटीकाँध गाउँपालिकाका ४९ जना व्यक्तिमा नमूना परीक्षण गरिएकोमा १६ व्यक्तिमा कोरोना संक्रमण देखिएको बताउनुभयो ।

सम्पर्क व्यक्ति रेग्मीका अनुसार संक्रमित व्यक्तिहरु उक्त गाउँपालिकाका १–६ वडाका रहेका छन् । त्यो परिस्थितलाई अवलोकन गर्दा उनीहरु कोरोना प्रभावित क्षेत्रबाट नआएर गाउँकै व्यक्ति भएको बताईएको छ । यसबाट समुदायका अन्य नागरिकहरुमा कोरोना संक्रमण हुन सक्ने चिन्ता व्यक्त गरिएको छ र समुदायमा त्रास पनि बढेको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले सरकारले बन्दाबन्दी खुला गरिसकेकोले अब नागरिकहरु आफै अनुशासित भएर यो रोगबाट बच्नुपर्ने बताउनुभयो । “मूलतः अहिले बन्दाबन्दी हटेको छ तर जोखिम घटेकै छैन,” निर्देशक डा.खड्काले भन्नुभयो, यसमा सावधानी नअपनाए समुदायमा अँझ जोखिम बढ्न सक्छ ।” त्यसैले सरकारको निर्देशन गरेको आवश्यक मापदण्डमा रहेर दैनिक क्रियाकलाप गर्न उहाँले नागरिकहरुलाई सल्लाह दिनुभएको छ ।

 

प्रतिकृया दिनुहोस्